काठमाडौं, ३१ चैत्र । अदालतद्वारा ज्यान मुद्दामा दोषी ठहर गरिएका माओवादी पूर्व सभासद् बालकृष्ण ढुंगेलविरुद्धको मुद्दाको सुनुवाई विहीबार हुँदैछ । अधिवक्त्ता दिनेश त्रिपाठीले बुधबार सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गराउनु भएको थियो । प्रहरीको फरार सूचीमा रहेका ढुंगेलले न्यायपालिकाविरुद्ध अभिब्यक्ति दिएको भन्दै दायर मुद्दामा कारबाहीको माग गरिएको छ ।
ढुङेलले ‘कथित सर्वोच्च अदालतको फैसलालाई म खारेज गर्छु, सर्वोच्च अदालतमा न्यायको ताराजु बोकेकी सुशिला कार्कीले मलाई गिरफ्तार गर्न हफ्ताको दुई चोटी आदेश गरीरहेकी छिन् । यो आदेशलाई म खारेज गर्द्छु । मेरो गिरफ्तारी हुँदैन’ भनी चेतावनी दिएको निवेदनमा उल्लेख छ ।
‘‘यस मन्चबाट कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गरिन्छ । खिलराज रेग्मीको नाममा पनि वारेन्ट जारी गरिन्छ । भीमसेन थापाको फिला चिरेर कुकूरलाई खुवाउने देश हो । कल्याण श्रेष्ठको फिला नचिरी म जेल जान्न । यो तपाईंहरुसँगको प्रतिबद्धता हो ।’ भन्दै ढुंगेल विरुद्ध मुद्दा दायर गरिएको छ ।
अदालतको मर्यादा माथि गभ्भीर आधात पुग्न गरी ्अदालतलाइ गम्भीर त्रासमा पार्न खोजिएको तथा अदालतको आदेश समेत नमान्ने सार्वजनिक रुपमा चुनौती दिएर न्यायिक प्रक्रियामा गम्भीर अवरोध पार्न खोजिएको भन्दै ढुंगेललाई सर्वोच्च अदालत ऐन, २०४८ को ७ (१) बमोजिम हदै सम्मको कारबाही माग गरिएको छ ।
ढुंगेललाई एक बर्ष कैद र दश हजार जरिबानाको सजाय तथा अदालतमा स–शरीर उपस्थित गराउन तत्काल वारेन्ट जारी गरी गिरफ्तार गर्न समेत माग गरिएको छ ।