एजेन्सी, १ बैशाख । अमेरिकाले अफगानिस्तानमा पहिलो पटक आफ्नो अहिले सम्मकै सबैभन्दा ठूलो गैर–आणविक बम खसालेको छ । जीबीयू–४३ नामको यो बम ‘मदर अफ अल बम्बस्’ नामबाट चिनिन्छ । यो गैरआणविक बम सबैभन्दा पहिला सन् २००३ मा परीक्षण गरिएको थियो । तर यसको प्रयोग भने यसअघि कहिले पनि गरिएको थिएन ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको एक विमानले अफगानिस्तानको नङगरहार प्रान्तमा यो बम खसालेको पुष्टी गरेको छ । तथाकथित इस्लामिक स्टेट (आईएस) विद्रोहीलाई लक्षित गरी यो बम खसालेको पनि पेन्टागनले बताएको छ ।
आईएस विद्रोहीहरु लुकेर बसेको सूचानाका आधारमा बम खसालेको पनि पेन्टागनले स्पष्ट गरेको छ । पछिल्लो हप्ता अफगानिस्तानमा आईएससँग भएको लडाइँका क्रममा अमेरिकी सैनिक मारिएपछि अमेरिकी सेनाले अहिलेसम्मकै सबैभन्दा ठूलो बम खसालेको हो ।
पेन्टागनकाअनुसार हिजो नांगरहार प्रान्तको अचिन इलाकामा स्थानीय समयअनुसार बेलुका यो बम एक विमानबाट खसालिएको हो । यो बम आईएस समूहको टनेल निर्माण गरिएको ठाउँमा खसालिएको पनि पेन्टागनले जनाएको छ । यो बमको तौल ९ हजार ८ सय किलोग्राम रहेको थियो भने यसको लम्बाइ ३० फिट भन्दा बढी रहेको थियो ।
अमेरिकाले यो हमलाबाट भएको क्षतिको पुष्टी नगरे केही आईएस बिद्रोही मारिएको जसमध्ये आईएस विद्रोहीका उच्च नेताका भाइसमेत परेको एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।