मोर्चालाई फकाउने प्रयासमा प्रधानमन्त्री दाहाल

0
510

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय निर्वाचनमा सहभागिता नजनाउने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई मनाउन पुनस् प्रयास थालेका छन् ।

सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन नयाँ विधेयक अस्वीकार गर्दै स्थानीय निर्वाचन बहिष्कार गर्ने मोर्चाको निर्णयबाट आश्चर्यचकित प्रधानमन्त्री दाहालले पुनस् उसलाई मनाउन प्रयास थालेका हुन्। दाहालले छलफल र वार्ताबाट समस्याको निकास खोजी स्थानीय निर्वाचनमा सहभागिता जनाउन मोर्चाका नेतालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालले मोर्चा र संघीय गठबन्धनका नेतालाई टेलिफोन गरी वार्ता र सहमतिमा आउन आग्रह गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ’मोर्चा र गठबन्धनको चुनावमा नजाने निर्णयले प्रधानमन्त्रीज्यू आश्चर्यमा पर्नु भएको छ,’ आचार्यले भने, ’तपाईँहरुको सहमतिमा नै ल्याइएको संविधान संशोधन नयाँ प्रस्तावमा किन विरोध गर्नुभयो ? भनेर प्रधानमन्त्रीज्यूले सोध्नुभएको छ।’ आचार्यका अनुसार पुनस् वार्ता र छलफलमा आएर संविधान संशोधन र निर्वाचन प्रक्रियामा सहभागिता जनाउन प्रधानमन्त्री दाहालले मोर्चाका नेतालाई आग्रह गरेका छन्।