भक्तपुर, २ बैशाख । भक्तपुरको बोडेमा शनिबार जिब्रो छेड्ने जात्रा हुँदैछ । हरेक वर्ष वैशाख २ गते बोडेमा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ । यसपाली थिमी बोडेका ४५ वर्षका बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्दै छन् ।
एम्बुलेन्स चालक रहेका श्रेष्ठले २०६२ सालदेखि २०६५ सालसम्म जिब्रो छेडाउनुभएको थियो । मध्यपुर ठिमी–२ गणेश मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एकफिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ ।
त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्दछन् । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ । बोडेमा वैशाख १ गते बेलुकादेखि वैशाख २ गतेसम्म जात्रा हुन्छ ।
चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुन्जेलसम्म निराहर बस्नुपर्ने परम्परा छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपंक्षी र महिलालाई छुन नहुने परम्परा छ ।