परराष्ट्र मन्त्रालयमा २४ करोड अनियमितता

0
711

काठमाडौं, ३ बैशाख । परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्चलगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो। महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७२÷०७३ को प्रतिवेदनमा अनियमितता औंल्याइएको छ । महालेखा परीक्षक कार्यालयको ५४औं वार्षिक प्रतिवेदनमा परराष्ट्र मन्त्रालय र मातहतका ३९ कार्यालयको उक्त आवको लेखा परीक्षण गर्दा ४१ करोड ८६ लाख ४७ हजार रुपैयाँ बेरुजु देखाइएको छ । बेरुजुमध्ये करिब २४ करोड अनियमितता भएको प्रतिवेदनमा देखाइएको छ ।

महालेखाले परराष्ट्रमा वैदेशिक भत्ताका नाममा २ करोड ३ लाख, पारिवारिक भत्ताका नाममा ५ करोड ४६ लाख, स्वास्थ्य भत्ताका नाममा १४ करोड ९१ लाख, आर्थिक कूटनीतिका नाममा ५ लाख रुपैयाँ अनियमितता भएको देखाएको छ। परराष्ट्र र मातहतका ३९ निकायलाई विनियोजित बजेट, राजस्व र अन्य कारोबार गरी कुल १२ अर्ब ८६ करोड ७७ लाख रुपैयाँको लेखा परीक्षण गर्दा उक्त अनियमितता बाहिर आएको हो।

‘बक्यौताको लेखा परीक्षण गराउने, कार्य्विधि तयार गरी खरिद प्रक्रियालाई व्यवस्थित गर्ने, तोकिएका फारम प्रयोग गरी राजस्वको लेखा राख्ने, आर्थिक विवरणले देखाएको मौज्दात र यथार्थ बैंक मौज्दात फरक परेमा बैंक हिसाब मिलान विवरण तयार गरी यकिन गर्ने, परिवार साथमा नरहेको अवस्थामा कर्मचारीलाई पारिवारिक भत्ता उपलब्ध गराउने निर्देशन दिएकोमा यो वर्ष पनि सुधार भएको छैन,’ प्रतिवेदनमा लेखिएको छ ।