नयाँवर्षको दिन राजमानले यसरी मनाए उत्सव (भिडियो सहित)

0
1090

काठमाडौं, ३ बैशाख । युरोपका प्रतिभावान नेपाली गायक राजमान तामांगले आफ्नो पहिलो एकल गीति एल्बम स्रोता-दर्शकमाझ ल्याएका छन् ।लामो समयदेखि डेनमार्क बस्दै आएका गायक तामांगले नेपाली नयाँवर्ष २०७४ कै दिन आफ्नो कर्मथलो कोपन्हेगनमा विशेष सांस्कृतिक उत्सवका बीच एल्बमको बिमोचन गराए। अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाजको पाँचौं युरोपस्तरीय भेला तथा पाँचौं युरोपस्तरीय एकल नृत्य र दोस्रो गायन प्रतियोगिताको तामझामपूर्ण कार्यक्रमकाबीच राजमानले स्वर भरेका गीतहरुको एल्बम ’उत्सव’ सार्वजनिक गरिएको हो ।

प्रतिभाशाली गायक तामांगले डेनमार्कबाट छुट्टीमा नेपाल गएका बेला छवटा फरक स्वादका गीतहरू रेकर्ड गराई तिनीहरुको संगालो तयार गरेका हुन्। एल्बममा कृष्ण पौडेल ’अन्जान’ को शब्द र दिपक शर्माको संगीतमा ’ताल पानीमा’ तथा ’अलि अलि कान्छी तिम्रो’, मीन गुरुङको शब्द र संगीतमा ’पूर्वमा धरान राम्रो’, सागर उपाध्यायको शब्द र मीन गुरुङ्गको संगीतमा ’हल्का हल्का नजर’, कृष्ण पौडेल ’अन्जान’को शब्द र कल्याण सिंहको संगीतमा रिमझिम रिमझिम’, बाबुल गिरीको शब्द र संगीतमा ’लौन मलाई रुझायो’ बोलका गीतहरु समेटिएका छन । ’हल्का हल्का नजर’ बोलको गीतमा मेलिना राईले र ’लौन मलाई रुझायो’ बोलको गीतमा योजना पुरीले तामांगलाई महिला भर्सनको स्वरमा साथ दिएका छन् ।

‘पूर्वमा धरान राम्रो’ गीतको भिडियो गत फेब्रुअरीको ५ तारिखमा हाइलाइट्स नेपालले युट्युबमा सार्वजनिक गरिसकेको छ। हालसम्म १ लाख ४० हजार बढीले हेरिसकेका उक्त गीतको भिडियो देश–विदेशका नेपाली स्रोता र दर्शकहरु माझ निकै चर्चित समेत भैसकेको छ । अहिलेकी चर्चित मोडल एलिसा राई र निराजन प्रधानले अभिनय गरेको सो म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका थिए । त्यसैगरी ‘हल्का हल्का नजर’ गीतको म्युजिक भिडियो प्रज्ञा रेकर्डिंग स्टुडियोले नयाँवर्षकै दिन बजारमा ल्याएको छ ।

चर्चित नायीका रीमा विश्वकर्मा तथा मोडल निराजन प्रधानको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई ख्यातिप्राप्त निर्देशक सुरज सिंह ठकुरीले निर्देशन गरेका छन् । मिठा शब्द, सुमधुर संगीत र कर्णप्रीय स्वरले सुसज्जित तामांगको ‘उत्सव’ गीतिएल्बमले राम्रै चर्चा बटुल्ने अपेक्षा युरोपका कलाकारले गरेका छन् ।