बैशाख १ काठमाडौं । नव वर्ष २०७४ को उपलक्ष्यमा राजधानीमा रहेका मौदगल्य गोत्री बन्धुहरूले शुभकामना आदान प्रदान तथा ऐतिहासिक सूचनामुलक सामाग्री सहितको भित्तेपात्रो विमोचन गरेका छन् ।
प्रतिष्ठानले राजधानीमा कार्यक्रमको आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश हरिकृण्ण कार्की, तिमिल्सीना समाजका अध्यक्ष डा रामकृण्ण तिमिल्सीना, कोइराला समाजका पूर्व अध्यक्ष रूबयनाथ कोइराला, बेल्बासे समाजका गोपालप्रसाद बेल्बासे, उप्रेती समाजका अध्यक्ष ओम उप्रेती एवं सगोत्री समाजका विशीष्ट व्यक्तित्वहरू क्यालेण्डर विमोचन गर्दै आगामी दिनमा संगठित हुँदै जाने र समाजसेवाका काममा अगाडि बढ्ने बताउनुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णुहरी तिमिल्सीनाले प्रतिष्ठानले गर्दै आएका समाजसेवा लगायतका विविध गतिविधिबारेमा जानकारी गराउनुभएको थियो ।
२०६५ सालमा स्थापना भएको प्रतिष्ठानमा अहिले तिमिल्सीना, कोइराला, बेल्बासे, मुडुला कार्की, नैनावस्ती, कुइकेल, विष्ट, बगाले, जोशी, बसौला उप्रेती, न्युरे, गोराथोकी, सिपखान, कालिकोटे थापालगायत २२ वटा बन्धुहरूको पहिचान भइसकेको उहाँले बताउनुभयो ।
मौदगल्य गोत्री लम्बोदर भट्ट सम्वत ४१५ मा सिंजा जुम्ला राज्यको जनाली भन्ने ठाउँमा आइ बसोबास गरेका थिए । यिनका नाती तथा लालु भट्टका छोरा इला, बिसा र बासुको विद्घताबाट प्रभावित भई सिंजापति नरेश मयुर भजनपालबाट वि।सं। ४७३ मा पुरस्कारस्वरूप राज्यको एक खण्ड बिर्ता प्रदान गरिएको थियो । उक्त विर्ताको केन्द्रलाई तिमिल्सैना भनिन्थ्यो । जुन हाल अछाम जिल्लाको तिमिल्सैना गाउँ हो । त्यसको केही समयपछि यी तीन भाइमध्ये जेठा इला अछाम जिल्लामा पर्ने कुइका बिर्ता पाइ कुइका गए, माइला बिसा अछाम जिल्लाको तिमिल्सैनमै बसे भने कान्छा बासु बाजुरा जिल्लाको पैमामा बिर्ता पाई उही गई बसोबास गर्न थाले । यिनै ठाउँहरूबाट मौदगल्य गोत्री बन्धुहरू विभिन्न स्थानमा स्थानान्तरण भई स्थान, पेशा आदिका कारणले थर परिवर्तन हुँदै विभिन्न स्थानमा बसोबास गरेको पाइन्छ ।