ब्रोइलर कुखुराको मासु किलो मै सय रुपैयाँ महँगो

0
1818

काठमाडौं, ४ बैशाख ।उपत्यकामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो एक सय रुपैयाँसम्म बढेको छ । गत कात्तिकमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले प्रतिकिलो २५० रुपैयाँ तोकेको ब्रोइलर कुखुराको मासु अहिले ३५० पुगेको छ । कतिपय खुद्रा व्यापारीले भने ३७० रुपैयाँसम्म लिइरहेको उपभोक्ताले बताएका छन् ।

कुखुरा व्यवसायीहरूले हाल कुखुराको उत्पादन घटेको तर माग बढेकोले मासुको भाउ अकासिएको बताएका छन् । कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बेल्बासेले लामो समयसम्म कुखुराको मासुको मूल्य बढ्न नसकेकाले त्यसको प्रभाव हाल बजारमा परेकोले बढेको जनाए । गएको दशैंमा समेत मासुको मूल्य नबढेको उनको भनाइ छ ।

केही महिनाअघिको तुलनामा उत्पादन ३० प्रतिशत घटेको उनले बताए । “बजारमा मासुको माग बढेको छ तर, मागको तुलनामा उत्पादन घटेको छ,” उनले भने, “त्यसबाट सिधै मूल्यमा प्रभाव परेको होे ।” उनका अनुसार उपत्यकामा मात्र दैनिक साढे तीन लाख किलो कुखुराको मासु खपत हुने गरेको छ ।

करिब २५ प्रतिशत कुखुरा पालक कृषकहरूले पेशा परिवर्तन गरेको मासु व्यवसायीहरु बताउँछन् । केही समयअघि मुलुकका केही स्थानहरूमा ‘बर्डफ्ल्यु’ देखिए पनि व्यवासयलाई भने कुनै प्रभाव नपरेको व्यवसायीहरूले जनाए ।
नेपाल दाना उद्योग संघका महासचिव रविन पुरीले नयाँ वर्षको आसपासमा कुखुराको मासुको मूल्य बढ्ने गरेको जनाए । “यस समयमा भोजलगायतका विभिन्न मनोरञ्जनका कार्यक्रमहरू बढ्नाले मासुको मूल्यमा पनि प्रभाव पर्ने गरेको छ,” उनले भने, “८÷१० दिन यतामात्र ब्रोइलर मासु प्रतिकिलो करिब २० रुपैयाँ बढेको छ ।”

व्यवसायीहरूका अनुसार मुलुकमा दैनिक ५ लाख किलो कुखुराको मासु खपत हुने गरेको छ । उपत्यकामा काठमाडौं वरपर जिल्लाबाट ४० प्रतिशत र बाहिरको जिल्लाहरूबाट ६० प्रतिशत कुखुरा भित्रने गरेकोे छ । उपत्यकामा अधिक मात्रामा ब्रोइलर कुखुराको मासु खपत हुने गरेको छ ।

राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले व्यवसायीहरूले मनोमानि ढङ्गले मासुकोे मूल्य बढाएको बताए । “सरकारसँग मूल्य निर्धारण तथा नियन्त्रण गर्ने कुनै पनि संयन्त्र तथा विधि छैन,” उनले भने, “जसका कारण कुनै पनि बहानामा व्यवसायीहरूले दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढाउने गरेका छन् । ” जबसम्म सरकारले वैज्ञानिक मूल्य निर्धारण र नियन्त्रण गर्ने संयन्त्र बनाउँदैन, व्यवसायीहरूले मनोमानी ढङ्गले वस्तुहरूको मूल्य बढाउने र उपभोक्ता उक्त महँगीको मारमा पिल्सिरहनु पर्ने उनको भनाइ छ ।