अब पैदलयात्रु पनि ट्राफिकको निगरानीमा, नियम मिचे २ सय जरिवाना

0
773

काठमाडौं, ४ बैशाख । काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो ।

नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए । नियम लागू गर्ने तयारी अन्तिम चरणमा रहेको जनाउँदै उनले वैशाख मसान्तदेखि कार्यान्वयनमा आउन सक्ने बताए ।
नयाँ नियम लागू भएपछि अब पैदलयात्रुले निर्धा्रित ठाउँबाट मात्र हिँड्नुपर्ने हुन्छ ।

अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै पैदलयात्रुले हिँड्नुपर्नेछ । सो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई पनि कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ । यो नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने डिआइजी लामाले बताए ।