राष्ट्रपति भण्डारी पाँच दिनका लागि भारत प्रस्थान

0
421

काठमाडौं, ४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ । राष्ट्रपति भण्डारीको यो पहिलो भारत भ्रमण हो । आज दिल्ली प्रस्थान गर्नु भएकी राष्ट्रपति भण्डारीको भोलि महत्वपूर्ण राजनीतिक भेटवार्ता हुनेछ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीदेखि प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भोलि नै भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

भोलि राष्ट्रपति भवनमा औपचारिक स्वागत कार्यक्रम रहेको छ । राष्ट्रपति भवनमा स्वागत गरिएपछि विहान ९ः ३० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गइ माल्यार्पण गर्ने तालिका छ भने ११ः३० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यतालिका छ । भोलि नै राष्ट्रपति भण्डारीले सवा १२ बजे गृहमन्त्री राजनाथ सिंह तथा वित्तमन्त्री अरुण जेट्लीसँग भेटवार्ता गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारीले भारतीय प्रधानमन्त्री मोदीसँग भोलि साढे ४ बजे राष्ट्रपति भवनमै भेटवार्ता हुनेछ भने बेलुका साढे ७ बजे भारतीय समकक्षी प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मुखर्जीसँग भेट गर्नुअघि उपराष्ट्रपति मोहम्मद हामिद अन्सारीसँग भेटवार्ता गर्ने तालिका छ । भोलि साँझ भारतीय राष्ट्रपतिले भण्डारीका लागि रात्री भोज आयोजना गर्ने कार्यक्रम छ ।