विराटनगर, ५ बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन्। पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्धविच्छेद गरिएको हो । सम्बन्धविच्छेद पछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिएकी छन्।
उनलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ। दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उनी उम्मेदवार बन्ने निश्चित छ। स्थानीय निर्वाचनमा सबै स्थानीय तहका प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरुले एकजना दलित महिलालाई सदस्य पदमा अनिवार्य उम्मेदवार बनाउनु पर्ने नीति छ।
दलित महिलालाई उम्मेदवार बनाउन नसके त्यो पद खाली रहन्छ, त्यसमा अरु महिलालाई उम्मेदवार बनाउन पाइँदैन। विराटनगर ११ मा अरु दलित महिला उम्मेदवारका आकांक्षी नभेटिएपछि पार्टीले परियारलाई दलित महिला कोटाबाट वडा सदस्यको उम्मेदवार उठाउने निश्चित भएको एमाले विराटनगर ११ का अध्यक्ष सुरज श्रेष्ठले बताए।