काठमाडौं, ६ बैशाख । संसदीय समितिले मुलुकको एउटै मात्र अन्तर्रा्ष्ट्रिय (त्रिभुवन) विमानस्थल समस्यै समस्याले घेरिएको निष्कर्ष निकालेको छ। विमानस्थलको महत्त्वपूर्ण चार अंग मानिने सुरक्षा, भन्सार, अध्यागमन र कार्गोमा भइरहेको लापरवाहीले समग्र अवस्था नै समस्याग्रस्त देखिएको हो। यही कारण विमानस्थलबाट मानव, मुद्रा, लागुपदार्थ, सुनलगायत तस्करी, चोरी, निकासी र पैठारीलगायत दर्जनभन्दा बढी समस्या रहेको निष्कर्ष समितिको छ। पुस २१ मा विमानस्थलबाट बाहिरिइसकेको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बरामद गरेपछि संसदको सुशासन तथा अनुगमन समितिले अन्तर्रा्ष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन गरेको हो। माघ २७ मा बसेको समितिको बैठकले ‘त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था सम्बन्धमा अध्ययन तथा सिफारिस गर्न’ उपसमिति गठन गरेर काम थालेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
संयोजक जनकराज जोशीसहित सांसदहरू अम्बिका खवास राजवंशी, कृपासुर शेर्पा, जीतबहादुर गौतम, नगेन्द्रकुमार कुमाल, मिलनकुमारी राजवंशी र सरिताकुमारी यादव सदस्स रहेको उपसमितिको अध्ययनले विमानस्थलका समस्या उजागर गरेको छ। उपसमितिले तत्कालीन रुपमा समितिमार्फत् सुझावसहित सिफारिस गर्नेछ। विमानस्थलका समस्या समाधानका भावी योजनासमेत उपसमितिले औंल्याएको छ। उपसमितिले केही दिनमै समितिलाई प्रतिवेदन बुझाउनेछ। संयोजक जोशीका अनुसार विमानस्थलमा आन्तरिक र अन्तर्रा्ष्ट्रिय टर्मिनलमा गरी १ सय ७१ वटा निकाय कार्यरत छन्। १४ सरकारी, ४ अर्धसरकारी, ९ निजी संघसंस्था, १ सय ३८ व्यापरिक तथा अन्य संघसंस्था र ५ सुरक्षा निकाय कार्यालय छन्।
सुरक्षा निकायका लागूऔषध नियन्त्रण कार्यालय, विशेष ब्यूरो, कुकुर शाखा, ट्राफिक प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल र महानगरीय अपराध महाशाखा छन् । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र विमानस्थल सुरक्षा महाशाखा कार्यरत छन्। उपसमितिले औंल्याएको सुरक्षासम्बन्धी समस्यामा प्रस्थानतर्फको एक नम्बर गेटको प्रतीक्षा कक्षाको पश्चिमतर्फ ढोका पूर्ण रुपमा बन्द नरहेको र जानेरआउने प्रशस्त ठाउँ रहेकाले ढोकाभन्दा बाहिरको बाटो तथा चौर क्षेत्रबाट प्रतिबन्धित सामान ओसारपसार हुन सक्ने सम्भावना रहेको उल्लेख छ। उपसमितिको प्रतिवेदनअनुसार वाल फ्यानमा कभर नभएको र वाल फ्यानको खाली स्थानबाट कुनै पनि सामान भित्र–बाहिर गराउन सक्ने अवस्था छ।
चुरोट खाने कोठाको बाहिरपट्टि खुला चौर रहेको तथा उक्त क्षेत्रमा कामदारसमेत आवतजावत गर्ने गरेको देखिन्छ। प्रतिवेदनले विमानस्थलमा पास बोकेका अनावश्यक व्यक्ति प्रस्थान गेटभन्दा बाहिर विमान राख्ने क्षेत्रसम्म पुग्ने गरेको समेत औंल्याएको छ। आगन्तुक पासमा कडाइ गर्न नसकिएको, लाइन व्यवस्थापन हुन नसकेकोले चेक इन, इमिग्रेसन तथा सुरक्षा जाँच अत्यन्त झण्झटिलो र भीडभाडयुक्त हुने गरेको उपसमितिको निचोड छ । प्रतिवेदनअनुसार भन्सारतर्फ अपर्याप्त एक्स–रे मेसिनका कारण चेकजाँच गर्न समय धेरै लाग्ने गरेको, एक्स–रे मेसिन र कन्भेयर बेलबाट आउने सामान जुध्न गई सामान अड्ने गर्छ, त्यसले सामान प्रभावित पार्न पर्याप्त अवसर प्राप्त हुन्छ । एकैपटक दुई तीन वटा जहाज ल्यान्ड गरेको अवस्थामा भन्सार अस्तव्यस्त रहने र यस्तो बेला प्रभावित पार्नका लागि राम्रो अवसर मिल्ने प्रतिवेदनले देखाएको छ। विदेशबाट शव ल्याएको बक्स भावनात्मक कारणले जाँच नहुने र एक्स–रे मेसिनमा पनि फिट नहुने भएकाले प्रभावित पार्ने सम्भावना नकार्न नसकिने जोशीले औंल्याए ।
अध्यागमनतर्फ आगमनको इमिग्रेसनमा भिसा शुल्क संकलनका लागि यात्रुको भीडभाडको समयमा लामो समयसम्म कुर्नुपर्ने हुन्छ । भिसा शुल्क संकलन गर्दा स९सानो रकम फिर्ता नगर्ने प्रवृत्तिसमेत प्रतिवेदनले कमजोरीका रुपमा औंल्याएको छ। वैदेशिक रोजगारीमा जाने यात्रुमा शिक्षाको अभावले इमिग्रेसन फर्म भर्न समेत समस्या हुने गरेको छ । सहायता कक्ष राखिएको भए तापनि पर्याप्त जनशक्ति नहुने र उपस्थित सहयोगीले पनि राम्रो व्यवहार देखाउँदैनन् । कार्गोमा एप्रोनदेखि कार्गो भवनसम्म सामान निर्वाध रूपमा ओसार पसार हुन्छ । कार्गो टर्मिनलमा एक्स रे मेसिन पर्याप्न नरहेको र सामानको एक्स–रे जाँच सामान एजेन्टलाई दिने बेलामा मात्र हुने गरेको देखिन्छ। सम्बन्धित निकायबाट निगरानी कम भएको समस्या छ ।