एउटा गैँडा समात्न ७ हात्ती, ५० मजदुर र प्रहरी परिचालन

0
534

रौतहट, ८ वैशाख । एक हप्तादेखि रौतहटको जंगलमा देखा पर्दै आएको एक सिंगे गैँडालाई नियन्त्रणमा लिएर चितवन पठाइएको छ । रौतहटको वन क्षेत्रमा एक हप्तादेखि देखिँदै आएको गैँडालाई तीन दिनको कठिन प्रयासपछि बिहीबार बेलुका नियन्त्रणमा लिन सफल भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्ध कोइरालाले बताउनुभएको छ ।

गैँडालाई समात्न ५० जना मजदुर, सातवटा हात्ती, एउटा ट्रक, एक्साभेटर, पाँचवटा गाडी र विभिन्न निकायका कर्मचारी तथा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको वन प्रमुख कोइरालाले बताउनुभयो । टोलीले गैँडालाई बेहोस बनाएर ट्रकमा लोड गरी चितवन राष्ट्रिय निकुञ्जमा बिहीबार बेलुका पठाएको हो ।

चितवन राष्ट्रिय निकुञ्जबाट आवास खोजीमा भौतारिँदै आएको एक सिंगे गैँडालाई स्थानीय बासिन्दाले देखेर जिल्ला वन कार्यालयमा खबर गरेका थिए । धेरैजनाले गैँडालाई देखेपछि जिल्ला वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए । निकुञ्जको टोली आएपछि तीन दिनदेखि वनमा गैँडाको खोजीमा जुटेको थियो ।

निकुञ्जका डा. कमल प्रसाद गैरे, पर्सा वन्यजन्तु आरक्ष केन्द्रका प्रमुख वार्डेन हरिभद्र आचार्य, जिल्ला वन कार्यालय रौतहटको प्राविधिक टोली, पर्सा वन्य जन्तु आरक्ष केन्द्रको नेपाली सेनाको टोली, प्रकति संरक्षण कोषको टोली, स्थानीय प्रहरी लगायतको सहयोगमा तीन दिनको अथक प्रयासपछि एक सिँगे गैँडा रौतहटको हातेमालो सामुदायिक वन क्षेत्रभित्र आँपखोला जंगलमा जिल्ला वन कार्यालयको डेढ किलोमिटर दक्षिणतर्फ बिहीबार दिउँसो समातिएको थियो ।