एकीकरणको बाटोमा बाबुराम र उपेन्द्रको पार्टी

0
376

काठमाडौं, ८ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण प्रक्रिया सुरु भएको छ। भट्टराई र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टी एकीकरणका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको जनाएका छन्। समितिमा भट्टराई र यादवका साथै संघीय समाजवादी पार्टीका नेता अशोक राई पनि छन्।

दुई पार्टीबीच सुरुमा कार्यगत एकता हुने र पछि दुई पार्टी नै एक हुने गरी प्रक्रिया अघि बढेको बताइएको छ। उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम नेपाल अशोक राईको पार्टीसँग एकीकरण भएर संघीय समाजवादी फोरम बनेको थियो। २०७२ असोजमा संविधान जारी भएपछि भट्टराईले माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टी खोलेका थिए। अहिले यी दुवै पार्टी आन्दोलनमा छन्।

संघीय समाजवादी फोरमले संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको छ भने स्थानीय निर्वाचनमा चुनाव चिह्न नपाएको भन्दै बाबुरामको नयाँ शक्ति पनि अन्य दलसँग मिलेर आन्दोलन गरिरहेको छ। संविधानमा मधेसबारे बाबुरामले पनि असन्तुष्टि जनाउँदै आएका छन्। स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सत्ता बाहिर रहेका दलहरुबीच धमाधम एकीकरण भइरहेको छ। बुधबार मात्र मधेसकेन्द्रित छ दल एकीकरण भएर राष्ट्रिय जनता पार्टी बनेको थियो।