१३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ राजधानीमा जारी

0
488

काठमाडौं, वैशाख ८ ।
लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले विहीबारदेखि राजधानीमा शुरू भएको ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ जारी छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको मेलामा २ सय १५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन् भने केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, बन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रर्वद्धित १० जना महिला उद्यमीहरु त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरु रहेका छन र बाँकी स्टलमा नेपालका लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिएको छ । यसैगरी यस प्रदर्शनीमा करिव ६ करोडको आर्थिक कारोवार हुने र करिव १ लाखले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ । यसका अलावा प्रदर्शनी अवधिमा अनुसन्धानकर्ता, उद्यमी र सरोकारवाला निकाय बीच ‘इनोभेशन टेक्नोलोजी एण्ड इन्टरप्राइज’ विषयक अन्तरक्रिया, महिला उद्यमशिलताको विकासमा सरकारी निकायहरुको भूमिका विषयक छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रमहरु संचालन हुनेछन् भने मेला भित्रको मेला रोजगारी मेला पनि संचालित रहेको छ ।
सोमबारसम्म चल्ने मेलाको माध्यमबाट नविनतालाई उद्योगसँग जोड्ने प्रयत्न स्वरुप यस व्यापार मेलामा छनौटमा परेका प्रदर्शनयोग्य तथा व्यवसायिकरण हुनसक्ने सम्भावनायुक्त प्रविधि, अनुसन्धान तथा आविष्कारहरूको प्रदर्शनी गरिने लक्ष्य लिएको छ ।
प्रदर्शनी औद्योगिक व्यापार मेला समेत भएको हुँदा मेलामा हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको र समग्र राष्ट्रका मौलिक औद्योगिक उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिने छ । यसका अलावा चीन, भारत, पाकिस्तान र बंगलादेश लगायतका औद्योगिक उत्पादनहरुको समेत प्रदर्शनी भएको छ ।
मेलामा रोजगरादाता र बेरोजगारबीच सुचना पुलको काम गर्ने उद्देश्यले महासंघले आइ।एल।ओ। र श्रम विभाग, रोजगार सूचना केन्द्रको सहकार्यमा मेला भित्रको मेला रोजगार मेलाको पनि आयोजना गरिएको छ ।