बैतडी, १० बैशाख । स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका अनुसार राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवमा कार्यरत रामबहादुर कुँवर, ज्ञानेश्वर मावि सिद्घेश्वरमा कार्यरत पृथ्वीराज पन्त, शिवलिङ्ग मावि बगर धौलाडीमा कार्यरत रामसिंह धामी र कुलाउ मावि कुलाउमा कार्यरत गोरखबहादुर चन्दले राजीनामा दिएका हुन् । राजीनामा दिने शिक्षकहरु २५ वर्षभन्दा बढी शिक्षण पेसा गरिसकेका रहेका जिल्ला शिक्षा कार्यालय, बैतडीले जनाएको छ ।
यसैबीच, जिल्ला शिक्षा कार्यालय, बैतडीले जिल्लामा कार्यरत शिक्षकलाई चुनावी प्रचारप्रसारमा नलाग्न आग्रह गरेको छ । निर्वाचन आचारसंहिता विपरीत पार्टीको झन्डा बोकेर चुनावी प्रचारप्रसारमा शिक्षक लागेको पाइएमा शिक्षा ऐनअनुसार कारबाही हुने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनुभयो ।