मुस्ताङमा निशुल्क स्वास्थ्य शिबिर, ९ सयले लिए लाभ ।

0
1235

मुस्ताङ, ११ वैशाख । घरपझोङ–४ ठिनीमा सम्पन्न दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ९१२ ले स्वास्थ्य परीक्षण गराएका छन् ।शिविरमा जिल्ला अस्पताल र थकाली स्वास्थ्यकर्मी परिवार नेपालबाट पाँच जना विशेषज्ञ डाक्टरको टोलीले सेवा प्रदान गरेका थिए ।

थकाली समुदायको बाहुल्य रहेको ठिनीमा सञ्चालित बाह्रबर्खे देवीदर्शन र मेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपाल, मनमोहन मेमोरियल अस्पताल, जिल्ला अस्पताल मुस्ताङ र मुस्ताङ सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा सर्वसाधारणले सेवा प्राप्त गरेका हुन् ।

ठिनी स्वास्थ्यचौकीका प्रमुख कर्णबहादुर कार्कीले शिविरमा ९० जनाले फिजियो थेरापी, ६५ जनाले स्त्रीरोग, हाडर्जोनी, छाला र सर्जरीसम्बन्धी ५६७ जना र २९० जनाको आँखा परीक्षण गरिएको जानकारी दिनुभयो । “यीमध्ये ८१ जनाको ल्याब टेस्ट, १११ जनाको भिडियो एक्सरे पनि गरिएको थियो”, उहाँले भन्नुभयो, “शिविरमा घासादेखि माथि मुक्तिनाथदेखि तलका सर्वसाधारण आएका थिए ।” शिविरका अवसरमा बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।