दोस्रो चरणको चुनावी कार्यतालिका सार्वजनिक

0
987

काठमाडौं, ११ बैशाख । दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता जेठ १९ गते हुने भएको छ । सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो, जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणको चुनाव भने बैशाख ३१ मै हुनेछ ।

निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । जेठ १९ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारले विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता गर्नु पर्नेछ ।

२० गते उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयन पत्र जाँच हुनेछ । विहान १० बजेदेखि १ बजेसम्म उजुरी दिने समय तोकिएको छ । १ बजेदेखि भोलिपल्ट साढे ११ बजेसम्म मनोनयन पत्र जाँच गर्ने समय तोकिएको छ ।

२१ गते उम्मेदवारको नामावली प्रकाशित हुनेछ । उम्मेदवारी फिर्ताका लागि दिउँसो १ बजेदेखि ५ बजेसम्म तोकिएको छ । २२ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ र त्यही दिन निर्वाचन चिह्न पनि प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

जेठ ३१ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म दोस्रो चरणको मतदान हुनेछ ।