भारतको छत्तिसगढमा माओवादीको हमला, २४ जना मारिए, ६ जना बेपत्ता

0
443

भारत, १२ बैशाख । भारतको माओवादी प्रभावित छत्तिसगढको सुकमा जिल्लामा भारतीय माओवादीले गरेको आक्रमणमा परी केन्द्रिय रिजर्ब प्रहरी बल (सीआरपीएफ) २४ जनाको मृत्यु भएको छ । मारिने सबै सीआरपीएफको ७४ औं बटालियनका जवान थिए ।

आक्रमणकारी ३ सय नक्सलवादीहरु मध्ये करिब ७० प्रतिशत महिला सामेल रहेको जनाइएको छ । सो आक्रमणपछि ६ जवान बेपत्ता छन् । सीआरपीएफले घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट रायपुर लगेको थियो ।

सुकमा जिल्लाको चितांगुफा इलाकामा एन्टी नक्सल अपरेशन चलाइरहेका सीआरपीएफ जवानमाथि आक्रमण भएको हो । उनीहरु सडक निर्माण आयोजनाको सुरक्षा दिन गएका थिए । यो घटनापछि छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले आपत्कालीन बैठक समेत बोलाउनु भएको थियो ।

सोमबार दिउँसो करिब साढे १२ बजेदेखि नै उनीहरुले विभिन्न स्थानमा एम्बुस थापेर आक्रमण सुरु गरेका थिए । यस हमलामा मारिएका प्रहरी जवानका हतियार समेत लैजान उनीहरु सफल भएका छन् । घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गत ११ मार्चमा पनि नक्सलवादीको आक्रमणबाट १२ जना सीआरपीएफ जवान मारिएका थिए । माओवादीले डिसेम्बर २०१४ मा समेत सीआरपीएफमाथि भीषण हमला गरेका थिए ।