१३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ सम्पन्न सात करोडभन्दा बढीको कारोबार

0
606

काठमाडौं, वैशाख ११ गते । उद्योगमन्त्री नवीन्द्रराज जोशीले अब १० वर्षभित्र नेपाली युवा मजदुरी गर्नकै लागि विदेशमा जान नपर्ने वातावरण बनाउन सरकार लागेको भन्दै यसका लागि राजनीतिक दलको प्रतिबद्धताको खाँचो औँल्याउनुभएको छ ।राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ को सोमबार राजधानीमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राजनीतिक उपलब्धि प्राप्त भइसकेकाले अब नेपाली जनताको जीवन समृद्ध कसरी बनाउने भन्ने सोचाइमा लाग्नुपर्नेमा जोड दिँदै उनले सबैले राष्ट्रको उत्थान र नेपाली जनताको जीवन सुखमय बनाउनेतिर अग्रसर हुनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । युवा वर्गमा देशमा केही गरौँ भन्ने भावना जागृत हुन सक्यो र उद्योग धन्दामा स्रोत र साधन प्रयोग हुन थाल्यो भने नेपाल पनि अन्य देशभन्दा कदापि पछि नपर्ने विश्वास दिलाउँदै उहाँले मुलुकको आर्थिक विकासको मेरूदण्ड लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकासको आवश्यकता औंल्याउनुभयो ।
लघु, घरेलु तथा साना उद्योगी÷व्यवसायीहरू एक्ला एक्लै व्यवसायमा लाग्नुभन्दा समष्टिगत रूपमा गुणस्तरीय उत्पादनमा लाग्न सुझाव दिंदै उहाँले भन्नुभयो– ‘गुणस्तरमा ध्यान दिंदैनौं सानो पूँजीमा व्यवसाय गर्छौं सामान बिक्यो भने पनि गुणस्तर कमजोर बनाउँछौं र बिकेन भने पनि कमजोर बनाउछौं ।’
राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ मा एक लाख २५ हजार अवलोकनकर्ताले  अवलोकन गर्दै सोमबार सम्पन्न भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा संयुक्त रूपमा आयोजना गरेको मेलामा सात करोडभन्दा बढीको कारोबार भएको छ ।
प्रदर्शनीमा बिहीबार १०, शुक्रबार २०, शनिबार ४५, आइतबार २५ र सोमबार २५ हजारले अवलोकन गरेका छन भने विहीबार ४० लाख, शुक्रबार ७० लाख, शनिबार दुई करोड ४० लाख र आइतबार सवा करोड र सोमबार दुई करोड ५५ लाख रूपियाँको कारोबार भएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा करिव ६ करोडको आर्थिक कारोवार हुने र करिव एक लाखले अवलोकन गर्ने अनुमान गरिएकोमा टिकटको आधारमा १ लाख २५ हजारले मेलाको अवलोकन गरेको र सात करोेड भन्दा बढी कारोवार भएको उहाँले बताउनुभयो ।
नेपाली बैज्ञानिकका खोज, अनुसन्धान र नविनतम प्रविधिलाई उद्योगमा प्रतिस्थापन गर्ने नयाँ अवधारणाबाट प्रेरित यो मेला हेर्न आउनेमा उत्सुकता तथा कौतुहलता रहेको पाइएको सहासंघका महासचिव डम्बरप्रसाद रेग्मीले बताउनुभयो । फलस्वरुप अवलोकनकर्ताहरुको भीड पाँचै दिन रहन गयो । कारोवार, अर्डर र अवलोकनकर्ताको छनोटका आधारमा प्रदर्शनीमा परम्परागत उत्पादनहरुले भन्दा पनि फालिएका कपडाबाट बनाइएका गमला र कागजका गहना जस्ता नवीन प्रविधि र नवीन सोचका उत्पादनहरुले प्रश्रय पाएको उहाँले बताउनुभयो ।
औद्योगिक प्रदर्शनीकै अवसरमा आइतबार अनुसन्धानकर्ता, उद्यमी र सरोकारवाला निकायबीच महासंघ केन्द्रिय महिला उद्यमी समितिको आयोजना तथा घरेलु तथा साना उद्योग विभागको सहकार्यमा ‘महिला उद्यमशीलता विकासमा सरकारी निकायहरूको भूमिका’ र महासंघ तथा विज्ञान मन्त्रालयको सहकार्यमा ‘नविनतम प्रविधि र उद्योग’ विषयमा छुटाछुटै अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ ।
लघु, घरेलु तथा साना उद्यमीहरु परम्परागत वस्तु उत्पादनमै सीमित रहेकाले ढाका, पश्मिना, सेरामिक, हस्तकला जस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको तर कृषि, गैह्रकाष्ठजन्य बन, जडीबुटी तथा प्राकृतिक रेशाजन्य बस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महंगा पत्थरहरु), पर्यटन, बैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा संचार प्रविधि लगायत स–साना जलविद्युतमा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय गर्ने तर्फ  पर्याप्त ध्यान दिन नसकिएका कारण उद्योग तथा व्यापारका क्षेत्रमा संकुचन आएको अध्यक्ष गिरीले बताउनुभयो ।
प्रदर्शनीमा २१५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन् भने केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, बन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रर्वद्धित १० जना महिला उद्यमीहरु रहेका छन् ।त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरु रहेका छन र बाँकी स्टलमा नेपालका लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिएको छ । यसैगरी यस प्रदर्शनीमा करिव ६ करोडको आर्थिक कारोवार हुने र एक लाखभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ । सोमबारसम्म चल्ने मेलाको माध्यमबाट नविनतालाई उद्योगसँग जोड्ने प्रयत्न स्वरुप यस व्यापार मेलामा छनौटमा परेका प्रदर्शनयोग्य तथा व्यवसायिकरण हुनसक्ने सम्भावनायुक्त प्रविधि, अनुसन्धान तथा  आविष्कारहरूको प्रदर्शनी गरिने लक्ष्य लिइएको महासंघले जानकारी दिएको छ ।
मेलामा सहभागीहरूमध्येबाट विभिन्न विधामा उत्कृष्ठ उद्यमीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा उत्कृष्ठ महिला उद्यमीतर्फ सहनशील दिदी बहिनी अल्लो धागो उद्योग दाङ, नवीनतम आविष्कारतर्फ चालक निदाएमा आफै ब्रेक लाग्ने प्रविधि, प्रविधितर्फ अवारी बेम्बो एण्ड अर्थ इनिसिएटिभ र उत्कृष्ठ उद्यमीहरूमा बुद्घ ह्याण्डिक्राफ्ट तथा पाइला टेक्नोलोजी पुरस्कृत भएका छन् । उत्कृष्ट हुनेले वैदेशिक उद्योग भ्रमणको अवसर पाउने महासंघले जनाएको छ ।