राप्रपाको चुनावी घोषणापत्र आज आउँदै

0
407

काठमाडौं, १३ बैशाख । संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह चुनावका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्दैछ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक गरेको भोलिपल्ट राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

प्रत्येक परिवारमा कम्तीमा एक जनालाई रोजगारी दिइने, बेरोजगारहरूका लागि स्वरोजगार कोष स्थापना गरी तालिम, सहुलियत ऋण उपलब्ध गराउने, निर्वाचन सम्पन्न भएको एक महिनाभित्र प्रत्येक परिवारको आर्थिक अवस्था सर्वेक्षण गरी काम सुरु गर्नेलगायतका विषय घोषणापत्रमा उल्लेख छ ।

राप्रपाले गरिबी निवारणलाई विशेष कार्ययोजनाका रूपमा अघि बढाउने संकल्प गर्नुका सथौ गाउँ नगरपालिकाभित्र २५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्ने, उद्योग तथा व्यवसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गरिने, उपरोक्तबमोजिमका उद्योग व्यवसायलाई जग्गा, बिजुली, पानी र बाटोमा सहुलियत दिइने, कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणका लागि प्रत्येक गाउँ नगरपालिकाको विशिष्टताको आधारमा कृषि क्षेत्र विकास योजना कार्यान्वयन गरिने, गाउँ नगरपालिकाको सम्भाव्यता अध्ययन गरी एक गाउँ नगर एक उत्पादन अभियान सञ्चालन गर्ने योजना अघि सारेको छ । राप्रपाले बन्द हड्ताल नगर्ने पनि प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरेको छ ।

गाउँ नगरपालिकाभित्रका प्रत्येक वडामा ५ वर्षभित्र मोटर बाटो पुर्याइने, प्रत्येक नगरपालिका र नगरउन्मुख गाउँ पालिकाहरूमा योजनाबद्ध सहरी विकास योजना कार्यान्वयन गरिने, नगरपालिकाहरूमा थप गरिएका नयाँ वडाहरूमा समेत समानुपातिक ढंगले विकास कार्यक्रम सञ्चालन गरिने लगायत विभिन्न विकाशे योजनाहरु पनि राप्रपाले आफ्नो घोषणापत्रमा समेटेको छ ।