राष्ट्र बैंकले ८ करोडमा बेच्यो दुईवटा दरबार

0
375

काठमाडौँ, १५ वैशाख । दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन ९थापाथली दरबार(सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ । ‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैँले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

हाल राष्ट्र बैंकको मुख्यालय रहेको बालुवाटारस्थित ललितानिवास र थापाथलीस्थित दरबार (सिंहमहल) भत्काइने भएको हो । यी राणाकालिन दरबार बस्नै नमिल्ने गरी भत्किएको र रेक्ट्रोफिटिङ गरेर सुधार गर्न समेत नसकिने भएपछि पुरातत्व विभागले भत्काउन निर्देशन दिएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । भत्काउन र भग्नावशेष पन्छाउन ठूलो लागत लाग्ने भएपछि भग्नावशेष बेचेर पैसा कमाउने बाटो केन्द्रिय बैंक र सरकारले लिएका हुन् ।

इकाइले मुलयांकन गर्दा उक्त दुई वटा दरबार भत्काएर त्यसको भग्नावशेष विक्री गर्दा करीब ६ करोड रूपैयाँ बचत हुने देखिएको थियो । तर, ठेक्का लगाउँदा करीब ७ करोड ८५ लाख रूपैयाँ राष्ट्र बैंकलाई प्राप्त हुने भएको छ । तर, उक्त ठेकेदारसँगको सम्झौता भने इकाइ नै गरेको छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले राष्ट्र बैंकका यी दुई भवनको संरचना भत्काउन आफूहरूले निर्देशन दिएको भए पनि भग्नावशेष बेच्न सहमति नदिएको बताए ।