उत्तरकोरियाको कारण युद्धको खतरा ट्रम्प ।

0
336

बैशाख १५ बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमका कारण एउटा ठूलो द्वन्द्व निम्तनसक्ने चेतावनी पुन दिएका छन्।
उनले कूटनीतिक माध्यमबाट उत्तर कोरियासँगको विवादको हल गर्न चाहेको तर सो बिधिबाट समाधान खोज्नु एकदमै कठीन भएको बताएका छन्।
यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अर्को परमाणु क्षेप्यास्त्र परीक्षण गरे उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी चीनले दिएको बताएका थिए।
उता उत्तर कोरियाले अमेरिकामाथिको हमलाको परिकल्पना गर्दै एउटा प्रोपोगान्डा भिडियो सार्वजनिक गरेको छ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रम आफ्ना लागि सबैभन्दा ठूलो विश्वव्यापी चिन्ता भएको बताए।
उनले कुटनीतिक रुपमा समाधान खोज्ने प्रयास गरिरहेको र चीनले उत्तर कोरियामाथि दबाब बढाइरहेको उल्लेख गरे।

चिनियाँ राष्ट्रपति सि जिनपिङलाई एक जना असल व्यक्तिको रुपमा संज्ञा दिदैँ उनले आफ्नो अट्टेरी छिमेकी विरुद्ध दबाब बढाउन प्रयासहरु गरिरहेको उल्लेख गरे।
अमेरिकाले चीनले उत्तर कोरियामाथि कडा प्रतिबन्धहरु लगाएर उसलाई वार्तामा आउन दबाब देओस् भन्ने चाहेको छ।
त्यसबाहेक सैन्य समाधानको विकल्पबारे पनि विचार भइरहेको विवरणहरु आएका छन्।

यसअघि फक्स न्युजसँगको कुराकानीमा अमेरिकी विदेशमन्त्री टिलरसनले चीनले आफ्नो छिमेकी उत्तर कोरियालाई अहिलेसम्मकै कडा चेतावनी दिएको खुलासा गरेका थिए।

उनका अनुसार चीनले किम जोङ उनलाई थप परमाणु परीक्षण गराए बेइजिङ्ले आफैँ प्रतिबन्धहरु लगाउने तयारी गर्ने जानकारी दिएको छ।
उत्तर कोरियाको झण्डै ८५ प्रतिशत व्यापार चीनसँग निर्भर छ।
अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाका युवा नेताले आफूले तर्कसंङ्गत निर्णय लिने क्षमता देखाएको भएपनि अमेरिकी गुप्तचर निकायहरुले संकलन गरेका विवरणले उनी क्रुर भएपनि मूर्ख नभएको पाइएको उल्लेख गरे।
तर राष्ट्रपति ट्रम्पले किम जङ उनको क्षमताबारे आफ्नो कुनै धारणा नभएको प्रतिक्रिया दिएका छन्।
उता बढ्दो कूटनीतिक दवावका माझ उत्तर कोरियाले एउटा प्रोपोगान्डा भिडियो बनाएको छ जसमा अमेरिकामाथि हमला गरेको अवस्थाको परिकल्पना गरिएको छ।
सो भिडियोमा उत्तर कोरियाली क्षेप्यास्त्रले वासिङ्टन डिसीस्थित क्यापिटोल हिल र ह्वाइट हाउस साथै अमेरिकी विमानहरु बस्ने नौ सेनाको पानीजहाजलाई निशाना बनाएको देखाइएको छ।