गोटिखेल (ललितपुर) १६ बैशाख । खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ। पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटिखेल बजारमा पाँच मिनेटमै झर्छ। ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटिखेलमा मात्र होइन, बुखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरेको छ।
गोटिखेलमा सुख्खा मौसममा कम दूध आए पनि वर्षा र हिउँदमा भने दैनिक सात सय लिटरसम्म दूध संकलन हुने गर्छ। किसानहरूले पालेका भैंसी र गाईको दूध हरेक दिन २० एमएमको पाइपमा दूध ढुवानी हुँदै आएको छ। बिहान ५ बजेभित्रै किसानहरूले दूध दुहेर रिङगिङडाँडामा र्पुयासक्छन्। त्यहाँ नापजाँच गरी सबै दूध पाइपबाट गोटिखेल र्पुयाउने गरेको महांकाल गाउँपालिका–२ का विष्णुप्रसाद घिमिरेले बताए। दूध पठाउन ढिला गरेमा बिग्रने भएकाले बिहानै गोटिखेल दूध चिस्यान केन्द्रमा पठाइन्छ । पहिले पानी पठाएर पाइप सफा गरेर मात्र दूध पठाउने गरिन्छ ।
‘दूध पठाउँदा पाइपको अवस्था कस्तो छ भन्दै सबैभन्दा पहिले पानी पठाइन्छ,’ सञ्जेलले भने, ‘पानी रिङगिङडाँडाबाट गोटिखेल पुगेपछि दूध पठाउने गरिन्छ, सबै दूध पाइपबाट पठाइसकेपछि अन्तिममा पानी हालेर दूध निखारिन्छ ।’ किसानलाई दूधको फ्याटअनुसार पैसा दिने गरिएको छ। दूधको फ्याट नाप्न डिजिटल मेसिन राखिएको छ । किसानले आफ्नो दूधको पैसा आफैं हिसाब गरेर तत्काल निकाल्न सक्छन्। एक फ्याटको साढे १० रुपैयाँ पर्छ । यसरी एक लिटर दूधको किसानले ६५ देखि एक सय रुपैयाँसम्म पाउँछन्। रिङगिङडाँडामा एउटा किसानले एकदेखि १२ वटासम्म भैंसी पालेका छन्।
केहीले गाई पनि पालेका छन्। एक किसानले दैनिक २० लिटरभन्दा धेरै दूध बिक्री गर्दै आएका छन्। सबै खर्च कटौती गरी किसानले मासिक ५० हजार रुपैयाँसम्म कमाउने गरेको सञ्जेलको भनाइ छ। गोटिखेल दुग्ध चिस्यान केन्द्रमा जम्मा भएको दूध सिधै काठमाडौं आउँछ। हिजोआज गोटिखेलमा दैनिक ६ सय लिटर दूध संकलन हुने गरेको छ। वर्षा र हिउँदमामा ८ सय लिटरभन्दा धेरै दूध संकलन हुने गरेको सञ्जेलले बताए । गोटिखेलबाट १० बजेभित्रै काठमाडौंका लागि दूध पठाउने गरिन्छ । यसरी ल्याएको दूध काठमाडौं, ललितपुरका विभिन्न डेरीमा बिक्री हुने गरेको छ । पाइपबाट दूध ढुवानी गर्न थालेपछि किसानको समय पनि बचत हुने गरेको छ। यसअघि दूध संकलन गर्न दुई घण्टा लाग्ने गरेकोमा अहिले पाँच मिनेटमै जम्मा हुने गरेको छ।
‘दूधको क्यानलाई नाम्लोमा बोकेर गोटिखेल र्पुयाउन दुई घन्टाभन्दा धेरै समय लाग्थ्यो,’ महांकाल गाउँपालिका–२ का निलप्रसाद बजगाईंले भने, ‘बजार जाँदा अलमलमै त्यसै समय खेर जान्थ्यो, त्यो समय अहिले बचेको छ।’ रिङगिङडाँडाको दूध गोटिखेलमा पाँच मिनेटभित्रै जम्मा हुन थालेपछि किसानहरू मख्ख छन्। दूध ढुवानी गर्न सजिलो भएपछि सो भेगमा भैँसी पाल्नेको संख्या पनि बढेको छ।