काठमाडौं, १६ बैशाख । स्थानीय निर्वाचनको घोषित मिति नजिकिदै गर्दा बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावबारे अस्पष्ट धारणा राख्दै प्राविधिक कारणले वैशाख ३१ मा चुनाव सम्भव नहुने संकेत गरेका छन् । दुई चरणको निर्वाचनबीच बजेट ल्याउनुपर्ने, दुई चरणबीच लामो समयको फरक रहेको र पहिलो चरणको मतगणना चुनावलगत्तै गर्ने कि अर्को चरणसम्म पर्खने भन्ने विषयमा प्रष्ट हुन जरुरी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सँगै लिएर मात्र अघि बढ्न सकिने धारणा व्यक्त गरेका हुन् ।
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने ’मैले प्रधानमन्त्रीको भावना बुझे अनुसार उहाँले घुमाउरो भाषामा वैशाख ३१ को निर्वाचन केही पर सार्ने वा निर्वाचन एकै चरणमा गर्ने द्विविधायुक्त धारणा राख्नुभयो।’ चौधरीका अनुसार प्रधानमन्त्री प्रचण्डले प्राविधिक समस्या देखाएर वैशाख ३१ को निर्वाचन पर सार्नुपर्ने संकेत गरे पनि स्पष्ट रुपमा भने यो धारणा वैठसमक्ष राख्न सकेका थिएनन्। बैठकमा सहभागी अधिकांश नेताले स्थानीय निर्वाचन एकै चरणमा गर्नुपर्ने धारणा राखेको जानकारी चौधरीले दिए ।
सत्तापक्षका नेता नेकपा संषुक्तका अध्यक्ष गणेश शाहले प्रधानमन्त्री प्रचण्डलाई पैसाको खेलमा लागेर संशोधन प्रस्ताव पारित गराउनतिर नलाग्न सुझाव दिँदै एमालेलाई सहमतिमा ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डलाई निर्वाचन एकै चरणमा गर्न दलका नेताहरुले सुझाव दिएका थिए। कै चरणमा निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणको निर्वाचन सकिएपछि मात्रै मतगणना सुरु गर्न सत्तापक्षका नेताले सुझाव दिएका थिए ।