काँग्रेसले भन्यो– निर्वाचन दुई चरणमै, उम्मेदवारको टुंगो २ दिनभित्र

0
451

काठमाडौं, १७ बैशाख । सत्तारुढ कांग्रेसले स्थानीय निर्वाचन दुई चरणमै गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ। शनिबार बेलुका केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकले दुवै चरणको निर्वाचनका लागि तयारी गर्ने निर्णय गरेको हो। कांग्रेस नेतृत्वसँग दिउँसो भएको छलफलमा एमाले अध्यक्ष केपी ओलीले १५ जेठको बजेटअगाडि एकै चरणमा निर्वाचन गर्न आग्रह गरेका थिए। ‘एमालेले एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। तर, त्यसमा मधेसी मोर्चा नमान्ने भएकाले हामी सरकारद्वारा घोषित दुई चरणको निर्वाचन नै गर्ने निर्णयमा पुग्यौँ,’ बैठकपछि नेता रामचन्द्र पौडेलले भने ।

ओलीले बजेट ल्याउनुभन्दा तीन–चार दिनअघि एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको उनले बताए। अन्य सबै दल सहमत भए एकै चरणमा पनि निर्वाचन गर्न सकिने नेता पौडेलले बताए। मधेसी मोर्चाका केही दलबाट पनि एकै चरणमा निर्वाचन गर्ने प्रस्ताव आए पनि त्यो परिपक्व नभएकाले घोषित निर्वाचन गराउन लाग्ने कांग्रेस निर्णय भएको पौडेलले बताए। सत्तारुढ, प्रतिपक्षी र मधेसकेन्द्रित सबै दलहरूले मान्ने अवस्था आए मात्र एकै चरणमा निर्वाचन गर्न सकिने पक्षमा आफूहरू रहेको उनले बताए । मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम एकै चरणमा निर्वाचन गर्नुपर्ने पक्षमा छ ।

कांग्रेसले मधेसी मोर्चालाई निर्वाचनसम्म र्पुयाउने बाटो संविधान संशोधन भएको भन्दै संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नेता महतले जानकारी दिए। ‘सकेसम्म सहमतिमा संविधान संशोधन होस् भन्ने चाहना कांग्रेसको हो,’ महतले भने, ‘एमालेलाई पनि हामीले अघि बढाएको प्रक्रियामा ल्याउन कोसिस हुन्छ, तर सभामुखले आइतबार संशोधनको प्रक्रिया अघि बढाउनुहुन्छ भन्ने विश्वासमा छौँ ।’ प्रक्रिया अघि बढेपछि संविधान संशोधनका पक्षमा दुईतिहाइ पुग्ने विश्वास कांग्रेस नेतृत्वले लिएको छ। तर, एमालेले संशोधन प्रस्तुत नै हुन नदिएमा के गर्ने भन्नेमा आइतबार मात्र निर्णय लिने सत्तारुढ दलको तयारी छ । उम्मेदवार टुंग्याउन कांग्रेसलाई अझै दुई दिन कांंग्रेस बैठकले अब दुई दिनभित्र स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निर्णय पनि गरेको छ ।

बैठकमा केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नम्बर ३, ४ र ६ मा ९० प्रतिशत उम्मेदवार चयन भएको भन्दै अब अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए। ‘प्रदेशहरू ३, ४ र ६ का ९० प्रतिशत उम्मेदवारको टुंगो लागिसकेको छ,’ मुख्यसचिव पौडेलले भने, ‘अब बाँकी उम्मेदवारको टुंगो सोमबारसम्म लागिसक्छ।’ १९ वैशाख उम्मेदवार मनोनयन गर्ने मिति हो। कांग्रेसमा नगरपालिका र गाउँपालिकामा उम्मेदवार चयन गर्न केही सहज भए पनि महानगरमा भने सबैभन्दा जटिल हुन पुगेको छ। काठमाडौं, पोखरा, भरतपुर र ललितपुर महानगरपालिका उम्मेदवारमा सहमति गर्न गाह्रो परिरहेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी गराएका थिए ।

पोखरा महानगरबाट मेयरमा ३३ र उपमेयरमा १३ जनाको नाम आएको रिपोर्टिङ बैठकमा गरिएको थियो। काठमाडौं र ललितपुर महानगरबाट केन्द्रमा नाम नै नआएको पौडेलले जानकारी दिए। निर्वाचन क्षेत्रमै उम्मेदवार छनोट समिति बनाइए पनि कांग्रेसमा महानगरको प्रमुख तथा उपप्रमुखमा धेरैको दाबेदारी परेपछि केन्द्रमा पठाइएको हो। काठमाडौं र भक्तपुरका सभापतिहरूले आइतबार मेयरसहित सबै उम्मेदवारको टुंगो लगाउन सम्बन्धित जिल्ला सभापतिले प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।