निर्वाचनको बिचमा बजेट ल्याउन नपाईने

0
288

काठमाडौं, १७ बैशाख । निर्वाचन आयोगले दुई चरणको निर्वाचनको बीचमा सरकारलाई नीति तथा कार्यक्रम र बार्षिक बजेट ल्याउनलाई रोक लगाएको छ । आयोगको शनिबार बसेको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउने विषय निर्वाचन आचारसंहिता विपरीत हुने निर्णय गरी सरकारको ध्यानाकर्षण गराएको हो । सरकारले बैशाख ३१ र जेठ ३१ दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेपछि बजेटलाई लिएर राजनीतिक वृतमा विवाद चुलिएको छ । संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने तिथी तोकिएको छ ।

सरकारले संसदमा बजेट ल्याउनुपूर्व सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रावधान छ । आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गरी फागुन १८ बाट निर्वाचन अचारसंहिता लागू गरेको छ । उक्त आचार संहिता दोस्रो चरणको निर्वाचन अवधिभर कायम रहने आयोगले जनाएको छ । सरकारले बैशाख ३१ मा घोषित निर्वाचनलाई दुई चरणमा गर्ने निर्णय गरेसँगै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव सहितका आयोग पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा जेठ १५ को बजेटलाई सार्न सुझाव दिनु भएको छ । जेठ ३१ मा निर्वाचन हुनेभएपछि सरकारले बजेट असारमा ल्याउनु पर्ने देखिएको छ ।