बा–आमाको पाउ समातेर ‘धरा’ सार्वजनिक गरे लम्सालले

0
464

काठमाडौँ, १७ बैशाख । कवि, गीतकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालको महाकाव्य ‘धरा’ को शनिबार राजधानीमा लोकार्पण गरिएको छ । कवि लम्सालले १० वर्ष लगाएर लेखेको ४३८ पृष्ठको सो महाकाव्य वरिष्ठ कवि तुल्सी दिवस, डा. गोविन्दराज भट्टराई, प्राज्ञ भुवन ढुङ्गाना, डा जगमान गुरुङ, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, पत्रकार धर्मेन्द्र झालगायतले सार्वजनिक गरे ।

राजधानीको प्रज्ञा डबलीमा पुस्तक सार्वजनिक कार्यक्रम हुँदै गर्दा डा. लम्साल कहिले भावुक देखिन्थे त कहिले उत्साहित देखिएका थिए । महाकाव्य ‘धरा’ सार्वजनिक समारोहमा उनका पिता माताको समेत उपस्थिती रहेको थियो । मञ्चमा पिता माताका पाउँ समातेर लम्सालले कार्यक्रमको सुरुवात गरेका थिए । उनकी जीवन संगीनी संगीताले कार्यक्रममा उनलाई विविध कार्यमा साथ दिएकी थिईन् ।

वरिष्ठ कवि तुल्सी दिवसले ‘धरा’ मा टुक्रा टुक्रा नभई सिङ्गै नेपालका बारेमा मिहिन रुपमा जानकारी प्रस्तुत गरिएको पुस्तक भनेर व्याख्या गरे । उनले मुलुक बनाउन अरुलाई गुनासो मात्र नगरी हरेकले आफ्नो तर्फबाट योगदान दिनुपर्छ भन्ने प्रमाणका रुपमा ‘धरा’ले काव्यिक जवाफ दिएको बताए । पुस्तकबारे बोल्दै डा गोविन्दराज भट्टराईले लम्सालले महाकाव्य विधामा आफूलाई अलग रुपमा स्थापित गर्न सफल भएको बताए।

ऐश्वर्य प्रकाशनले प्रकाशन गरेको ‘धरा’ रेडियो नेपालमा कार्यरत लम्सालको छैठौँ साहित्यिक कृति हो । पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सबै जीवित पूर्व प्रधानमन्त्रीहरुको भूमिका समावेश गरिएको छ । कार्यक्रममा ‘धरा’ भित्रका कविता विभिन्न स्रष्टाले वाचन गरेका थिए ।