काठमाडौं, १७ वैशाख । संविधान संशोधनको कार्यसूचीमै प्रवेश नगरी व्यवस्थापिका संसद बैठक चार दिन पछाडि धकेलिएको छ । अब उम्मेदवारी दर्ता अघि संविधान संशोधनको सम्भावना टरेको छ । संसदको आइतवारको बैठक नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै वैशाख २१ गते सम्मका लागि स्थगन भएको हो । सिंह २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका थिए ।
आजै दुई चरणमा बैठक बसेर संशोधन प्रक्रिया टुंगो लगाउने भनिए पनि बैठक लामो समयका लागि स्थगित भएको हो । स्थानीय तह निर्वाचनका लागि वैशाख १९ गते मनोनयन दर्ता गर्नुपर्ने भएकाले सांसदहरुले गाउँ जान समय माग गरेपछि बैठक स्थगित गरिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । यससँगै उम्मेदवार मनोनयअघि संविधान संशोधन हुने सम्भावना टरेको छ।