काठमाडौं, १७ बैशाख । सत्ता साझेदार नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष एमालेलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने भएको छ । पार्टी संसदीय दलको आईताबार विहान बसेको बैठकले एमालेलाई समेत सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय गरेको हो । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेलाई पनि सहमति लिएर संविधान संशोधन गर्न सबैभन्दा उत्तम विकल्प हुने निष्कर्ष निकालेको हो ।
सबै दललाई सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय लिइएको पार्टी नेता एवम् रक्षा मन्त्री बालकृष्ण खाँडले जानकारी दिए । कांग्रेसले सबै दललाई निर्वाचनमा सहभागी गराउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएकाले त्यसलाई पारित गर्न एमालेलाई साथ दिन आग्रह गर्दै आएको छ । यता, एमालेले स्थानीय तह र प्रदेशको समेत अधिकार कटौती हुने गरी आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने अडान राख्दै आएको छ ।
कांग्रेसले स्थानीय तहमा पार्टीको तर्फबाट उठाउने सबै उम्मेदवारी टुंगो लगाउन पनि आन्तरिक छलफललाई तीव्र बनाएको छ । महानगर, उपमहानगरका मेयर र उपमेयरमा धेरै आकांक्षी देखिएपछि त्यसलाई अन्तिम टुंगो लगाउन पार्टीका शीर्ष नेताहरुबीच छलफल भइरहेको हो । पार्टीका शीर्ष नेताहरुबीच कतिपय स्थानीय तहको उमेदवारहरुको टुंगो लगाउने विषयमा पनि छलफल भइरहेको नेता खाँडले स्पष्ट पारे ।
कांग्रेसले सोमबार विहानसम्म स्थानीय तहका सबै उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको मनोनयन कार्यतालिका मंगलबार तय गरेपछि दलहरु उमेदवारीको अन्तिम टुंगो लगाउने तयारीमा जुटेका हुन ।