काठमाडौं, २१ बैशाख । विमलेन्द्र निधीले उपप्रधान तथा गृहमन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । लगतै उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच बिहीबार विहान छलफल भएको थियो । उक्त बैठकमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा र्फकन आग्रह गरेका छन् ।
गृहमन्त्रीबारे नै बुधबार राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए ।
सोही आग्रह लिएर कांग्रेस सभापति देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाअभियोग दर्ता भएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका निधीले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
अब उपप्रधान तथा गृहमन्त्री निधी सरकारको बरियतामा दोस्रो स्थानमा रहनेछन् ।
यसअघि निधी र तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलेको थियो । थापालाई दोस्रो वरियता दिएपछि उनले मन्त्रिपरिषद् बहिस्कार समेत गरेका थिए । तर, राप्रपाले सरकार छाडेकाले अब निधी प्रचण्ड सरकारमा दोस्रो वरियतामा रहनेछन् ।