सर्वोच्च अदालत फर्किइन् कार्की

0
771

काठमाडौं, २३ बैशाख । आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत यथास्थितिमा राख्न निर्देशन दिएलगत्तै प्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार नै कार्यभार सम्हालेकी छिन्। अदालतले शुक्रबारबाटै काम थाल्न आदेश दिएलगत्तै कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट प्रशासनिक कार्य सुरु गरेकी हुन्। ‘सर्वोच्च अदालतले उहाँलाई आदेश दिएको मितिदेखि नै पदमा बहाल गराउनु भन्ने आदेश दिएको हो’, सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले भने, ‘आदेशानुसार उहाँले केही प्रशासनिक टिप्पणी र फाइलमा निर्णय गर्नुका साथै हाजिरसमेत गर्नुभएको छ।’ कार्की आइतबारदेखि नियमित काममा फर्किनेछिन्।

न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कार्कीमाथि महाभियोगको प्रस्ताव दर्ता गर्दा लगाइएको अभियोग वस्तुपरक र यथार्थपरक नभएको आधारलाई नै अन्तरिम आदेश जारी गर्नुपर्नाको मुख्य आधार बनाइएको छ। ‘महाअभियोग प्रस्तावमा सर्वोच्चमा विचाराधीन प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दामा भएको फैसलालाई आधार मानी अन्य अभियोग लगाएको देखिए पनि’, आदेशमा भनिएको छ, ‘संविधानको मर्म र भावनाअनुकुल उक्त महाअभियोग प्रस्ताव छैन भन्ने सुरु नजरमै देखिन आयो। सुविधा र सन्तुलनको आधारमा यो निवेदन टुंगो नलागेसम्म संसदको सचिवालयमा दर्ता भएको प्रस्ताव र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्नू।’

प्रस्ताव यथास्थितिमा राख्न दिएको आदेशले न्यायिक निरूपण टुंगो नलागेसम्म त्यसमाथिको संसदीय प्रक्रिया अघि बढ्दैन। सर्वोच अदालतले संसदका महासचिवद्वारा जारी पत्रलाई पनि यथास्थितिमा राखेकाले कार्कीमाथिको निलम्बन निष्क्रिय भई उनी महाअभियोग दर्ता हुनुअघिकै स्थितिमा प्रधानन्यायाधीश पदमा बहाल भएकी हुन्।