भक्तपुरमा भीषण आगलागी : ८ परिवारको विचल्ली

0
405

 

भक्तपुर, २४ वैशाख । भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा ध्वस्त भएको जानकारी दिए ।

इन्द्र शिल्पकार, कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकार, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको घरमा आगलागी भएको हो ।

बिहान २ः३० बजेदेखि स्थानीय बासिन्दा, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसहित भक्तपुरका दुई, काठमाडौँको एक, ललितपुरको दुई र नेपाल प्रहरीको एक गरी छवटा दमकलले बिहानसम्म आगो नियन्त्रणको प्रयास जारी राखेको उनको भनाई छ ।

आगलागीमा मानवीय क्षति नभए पनि घरभित्र रहेका अधिकांश सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।