आचार संहिंता उल्लंघनका घटनामा कमी : निर्वाचन आयोग ।

0
482

बैशाख २४ काठमाण्डौ । विगतका निर्वाचनको तुलनामा वैशाख ३१ गते हुन लागेको स्थानीय चुनावसँग सम्बन्धित आचारसंहिता उल्लंघनका घटना कम देखिएको निर्वाचन आयोगले बताएको छ। लिखित र मौखिक गरी हालसम्म सय जतिमात्रै उजुरी आयोगमा परेको छ।
परेका उजुरीहरुको अध्ययन गरेर सम्बन्धित दल र पक्षलाई सचेत गराउने काम भइरहेको आयोगका सचिव गोपीनाथ मैनालीले बताए।

पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन आउन ७ दिन बाँकी रहँदा प्रचारप्रसारले तीव्रता पाएको छ।
विगतमा चुनाव प्रचारप्रसार निकै भड्किलो हुने गरेको आरोप दलमाथि लाग्ने गरेको थियो।
यसपटक निर्वाचनको मिति घोषणासँगै दल र सरकारसहितलाई आचारसंहिता लागू गरेको आयोगले हालसम्म आचारसंहिता उल्लंघनका घटना न्यून देखिएको जनाएको छ।
आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार मतदातामा जनता र राजनीतिक दलहरुमा चेतनाको स्थिती असाध्यै बढेको छ। नियन्त्रण र सन्तुलनको सिद्धान्त पनि लागू भएको छ। विगतको निर्वाचनहरुभन्दा अहिलेको निर्वाचनमा आचारसंहितालाई उल्लेखनीय रुपमा परिपालना गरेको हामीले महसुस गरिरहेका छौं।
लिखित, फोन, इमेल लगायतका माध्यमबाट उजुरी दिने व्यवस्था मिलाइएपनि करिब सयवटा उजुरीमात्रै आयोगमा परेका छन्।
विगतका निर्वाचनमा सरकारले निर्वाचन प्रभावित गर्ने गरी काम गरेको भन्दै विपक्षी दलहरुले दैनिकजसो आयोगमा उजुरी गर्न जाने गरेको भएपनि यसपटक त्यस्तो नगण्य देखिएको आयोगका अधिकारीहरुले बताएका छन्।