काठमाडौं, २४ बैशाख । अहिले नेपाली चलचित्र गीत संगीतमा चलचित्र ‘पर्व’को ‘काले दाई’ बोलको गीत निक्कै चर्चामा छ । यो गीत यूटुबमा १ करोड बढी पटक हेरिएको छ । बच्चादेखि बयस्कसम्मको मुखमा झुण्डिएको यो गीतको लोकप्रियता पछि चलचित्र यूनिटले अहिले अर्को नयाँ गीत सार्वजनिक गरेको छ ।
चलचित्र निर्माणपक्षले चलचित्रमा समावेश ‘जिन्दगानी तिमी’ बोलको दोश्रो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर रहेको तथा कोशिश क्षेत्रीको शब्द/संगीत समावेश गरिएको छ ।
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार नायिका नम्रता श्रेष्ठ र गायक तथा नायक कोशिश क्षेत्रीको केमेष्ट्री गजबसँग देखाइएको छ । चलचित्रमा माला लिम्बु, केशव भट्टराई, जेविका कार्की लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको यो चलचित्र दिनेश राउतले निर्देशन गरेका छन् । यो चलचित्र जेठ १२ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।