बाँदरझुलाको पीडा– ‘६ महिना बगरमा बस्दा कोही आएनन्, अहिले भोट माग्न दिनदिनै धाउँछन्’

0
476

चितवन, २५ बैशाख । २०६२ जेठ २३ मा बाँदरमुडेमा माओवादीले थापेको एम्बुसमा यात्रुबस परेपछि माडी उपत्यका एकाएक चर्चामा आयो । यो घटनालाई एकथरीले माओवादीको युद्धमाथिको धब्बा ठान्छन् भने अर्काथरी यो लगायत घटनाकै दबाबले माओवादी शान्ति प्रक्रियामा आएको ठान्छन् ।

यही माडी उपत्यकादेखि अझै दक्षिण लागेपछि ठोरीदेखि पश्चिममा पर्छ भारतीय सीमा नजिकैको बस्ती– बाँदरझुला । प्रायस् कोही नपुग्ने, सार्वजनिक यातायातका साधनसमेत चलाउन नदिइएको बाँदरझुलामा अहिले दिनहुँ गाडीका लस्कर पुग्छन् । भरतपुरबाट ८६ किलोमिटर दक्षिण ठोरी नजिकै करिब ९ सयजति जनसंख्या भएको यो क्षेत्र खासमा अस्थायी बस्ती हो । ०४७ देखिको बसोबास भए पनि चितवन निकुञ्ज प्रशासनले बस्ती हटाउने प्रयास गरिरहेको छ । भोट माग्नका लागि अस्थायीलाई स्थायी बस्ती बनाउने नारा लिएर दिनहुँ भरतपुर र माडीबाट दलका नेता बस्ती पुग्न थालेका छन् । तर, चितवनको कालापानी भनिने यो गाउँका बासिन्दासित केही उधारो हिसाब छन्, जुन चुक्ता नभएसम्म उनीहरू कसैलाई भोट दिने सुरमा छैनन् ।

यहाँस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक आशिष गोपाल परियार आफ्नो गाउँलाई ‘कालापानी’ भन्छन् । ‘यहाँ बिजुली छैन, खानेपानी छैन, सार्वजनिक सवारी चल्दैन, सदरमुकाम गएर फर्किनुर्पयो भने तीन दिन लाग्छ । निकुञ्जका हात्ती र गैंडाले आक्रमण गरिरहन्छन् । कहिले बोर्डरपारिका डाँका आउँछन्, कहिले निकुञ्जले नै घरमा आगो लगाउँछ,’ उनले भने, ‘यस्तो ठाउँमा बस्न हामीलाई मन छैन । तर, बाँच्न सक्ने गरी अन्त सार्न सरकार तयार छैन ।’

बाँदरझुलाको अघिल्तिर चारवटा जंगे पिलर छन् । सालको जंगल भएको सानो थुम्कोको उत्तरी पाटो नेपाल हो भने दक्षिणमा पर्छ, नरकटियागन्ज, बिहार भारत । ३७, ३८, ३९ र ४० नम्बरका पिलर यो डाँडामा गाडिएका छन् । ०७० सालदेखि सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट यहाँ स्थापना गरिएको छ । ‘पहिले भारतका डाँकाहरू हाम्रो गाउँमा आइपुग्थे, ०५४ सालमा त गाउँलेले भारतीय डाँका नै मारेका छन्,’ परियारले सुनाए, ‘सशस्त्र आएपछि त्यस्ता समस्या भएका छैनन् ।’

७४ वर्षीय रामबहादुर लोहनी ०४७ सालमा बाँदरझुला आए । ‘पाँच वर्षसम्म साहुको गाई चराउँदा पनि पिताले लिएको १ सय ८० रुपैयाँ ऋण चुक्ता नभएपछि धादिङबाट भागेर चितवन आएँ,’ लोहनीले भने, ‘चितवनको भण्डारामा आठ वर्ष एउटाको गाई हेरें ।’ ०४६ को जनआन्दोलन सफल भएपछि जिल्लाभरिका भूमिहीन सीडीओ कार्यालयमा धर्ना बसे ।

‘हामीलाई सीडीओले खाली ठाउँ हेरेर बस्नु भनेपछि यहाँ आएका हौं,’ लोहनीले भने, ‘०५४ मा यसलाई मध्यवर्ती क्षेत्र घोषणा गरियो, अनि हामीलाई छाडेर जाऊ भन्न थालियो । जीवनभर सुकुम्बासी भइयो, सुकुम्बासी नै भएर मर्न मन छैन ।’ उनका अनुसार पहिले पनि यहाँ भूपू सैनिकको बस्ती थियो । ‘सीमा सुरक्षा गर्ने भनेर पहिले पनि यहाँ बस्ती बसाइएको हो, तिनै भूपूलाई पछि ठोरी लगिएको हो । बस्तीमा सानो पसल खोलेर बसेकी २६ वर्षीया आशा लामा आफ्नो पसलमा जुन पार्टीको पनि झन्डा गाड्न दिन्छिन् । तर भन्छिन्, ‘मलाई यी कुनै पार्टीमा पनि विश्वास छैन, चुनाव छउन्जेलमात्र यी आउने हुन्, त्यसपछि कोही आउनेवाला छैन ।’

०७३ को असारमा निकुञ्जले यो बस्ती खाली गर्न ३५ दिने सूचना निकालेको थियो । साउन ६ गते सातवटा हात्ती लिएर निकुञ्जका कर्मचारी बस्ती आए । ‘धान रोपेको हाम्रो खेतमा हात्तीले कुल्चाए, हामीलाई तर्साए,’ आशा भन्छिन्, ‘त्यो बेला पनि यहाँ कुनै दल आएनन् ।’ आशालाई लाग्छ, ‘धेरै मतदाता भएकाले दलहरू यो बस्ती हटाउन पनि चाहँदैनन्, हामीलाई लालपुर्जा पनि दिन सक्दैनन् ।’

३९ वर्षीया सावित्री परियार र ५२ वर्षीया सीता पौडेलसँग हात्तीका योभन्दा दुखान्त स्मृति छन् ।

घरमा आगो, बगरमा सुत्केरी
वन र सुकुम्बासीको द्वन्द्व नेपालका धेरै ठाउँमा छ । देशमा संकटकाल लागेका बेला ०५८ सालमा बाँदरझुलामा भएको संघर्ष ती सबैमध्ये चर्को थियो । मंसिरमा लागेको संकटकाल माघसम्ममा गाढा बन्दै थियो । माघ २० गते निकुञ्जका हात्ती बाँदरझुलामा आए । हात्तीमाथि चढेका कर्मचारीले सलाई कोर्दै झुपडीमाथि आगो लगाउन थाले । तीन दिनसम्म चलेको यो अग्निकुण्डमा बस्तीका सबै घर खरानी भए ।

घरमा आगो लगाइएपछि सिमसिम पानी परेको दिन सबैजना छेउको अमुवा बगरमा जम्मा भए । ठोरी पुगेर कसैले पाल ल्याए । घरमा आगो लाग्दै गर्दा शर्मिला मल्ललाई सुत्केरी व्यथा लागेको थियो । महिलाहरूले अनुरोध गरे, ‘आज यिनलाई यहीं सुत्केरी हुनदेऊ, हामी भोलिदेखि घर छोडिदिन्छौं,’ सीता पौडेलले भनिन्, ‘त्यस्तो बेलामा पनि घरमा आगो लगायो ।’

बगरमा पालमा रात काट्ने सुर भइरहेका बेला शर्मिलाले बच्चा जन्माइन् । बस्ती उजाडिएको दुस्ख मनमा भए पनि नयाँ जीवन सुरुवातको एउटा सानो खुसी बगरमा देखियो । तर, पानी परिरहेको त्यो चिसो रातमा पालले सिरेटो छेक्न सकेन । बच्चाले सास फेर्न छाड्यो । सुरु नहुँदै एउटा जीवनको अन्त्य भयो ।

केही दिनका लागि भनेर सुरु भएको पाल जीवन ६ महिना चल्यो । यस अवधिमा बस्तीका १२ जना महिला त्यो बगरमा सुत्केरी भए । ‘तीमध्येकी एउटी म हुँ,’ सावित्रीले भनिन्, ‘०५८ को चैत २६ गते ढुंगाको सिरानी हालेर मैले त्यही बगरमा छोरा जन्माएँ ।’ उनको छोरा अहिले भरतपुरमा डेरामा बसेर ९ कक्षा पढिरहेका छन् । यो गाउँमा आठ कक्षाभन्दा बढी पढाइ हुने विद्यालय छैनन् । गाउँका अरू विद्यार्थी माध्यमिक पढ्न ठोरी पुग्छन् । सावित्रीजस्तै देवी लामिछानेका छोरा राकेश पनि त्यही बगरमा जन्मिएका थिए । उनी अहिले दस कक्षामा पढदै छन् । ‘हामीले बालुवामा सुतेर, ढुंगाको सिरानी हालेर बच्चा जन्माएका हौं,’ उनले भनिन्, ‘हामीलाई सुकुम्बासी भनेर त्यतिसम्म अत्याचार गरिएको थियो, घरमा समेत बच्चा जन्माउन दिइएन ।’

६ महिनापछि बगरको पाल उठ्यो । ‘अन्त जान सक्नेहरू गए, हामी कुनै उपाय नहुनेहरू फेरि तिनै जलाइएका घरमा फर्कियौं,’ सावित्रीले भनिन्, ‘६ महिनासम्म हामी बगरमा बस्दा कोही आएन, अहिले भोट माग्न दिनदिनै आउँछन् ।’

लालपुर्जा कि विकल्प, नत्र छैन भोट
८३ वर्षीय मानबहादुर विकका धेरै माग छैनन् । ‘कि त यहाँबाट अर्को ठाउँमा सार्देऊ कि लालपुर्जा देऊ, नत्र हामीले किन भोट हाल्ने ?’ उनले भने । उनका अनुसार यो गाउँमा दलितका नाममा खासै ठूलो छुवाछूत र असमान व्यवहार पनि छैन । ‘हामी सबै सुकुम्बासी भएर हो कि ?’ उनले भने, ‘सबैको दुस्ख उस्तै भएर होला हामीलाई खासै भेदभाव पनि गरिँदैन ।’ गाउँमा सबभन्दा बढी जनसंख्या तामाङको छ भने त्यसपछि दलित, ब्राह्मण, क्षत्री, चेपाङ, गुरुङ, मगर, थारू र दराई छन् । सबैजसो धर्म मान्ने मानिस भएको बस्तीमा तीनवटा मन्दिर र पाँचवटा चर्च बनेको एक स्थानीयले बताए ।

बाँदरझुला, कुसुमखोला र प्याउलीसमेत गर्दा यो क्षेत्रका सुकुम्बासीको मत करिब एक हजार हुन्छ । यति धेरै मतदाता भएको क्षेत्रबाट उम्मेदवार नहुने कुरै भएन । बाँदरझुलाबाट मात्र माडी नगरपालिका वडा नं ९ मा चारवटा पार्टीले उम्मेदवार उठाएका छन् । माओवादीले सोलाल गोलेलाई वडा अध्यक्ष उठाएको छ भने कांग्रेसबाट बिना थापा क्षत्री, एमालेबाट लक्ष्मी सुनाम र राप्रपाबाट सन्तबहादुर श्रेष्ठ र जयलक्ष्मी परियार वडा सदस्य उम्मेदवार छन् । बस्तीका सबै उम्मेदवार एकजुट भएर स्वतन्त्र उम्मेदवारी दिने सल्लाह पनि भएको थियो तर दलहरूले मानेनन् ।

शनिबार बिहानैदेखि बाँदरझुलामा मेला लागेको थियो– भोट माग्नेको मेला । एउटै पार्टीका उम्मेदवार १० देखि १२ वटा गाडी लिएर आएका थिए । तर, यो गाउँमा निकुञ्जले आफ्नो क्षेत्र पर्ने भन्दै सार्वजनिक गाडी चल्न दिएको छैन । ‘भोट माग्न यत्रा गाडी आउँछन्, हामीलाई भने चलाउन दिँदैनन्,’ आशिष परियारले भने । ०७३ साउनमा हात्तीसहित निकुञ्ज आएपछि भोलिपल्टै बस्तीका बासिन्दाहरू सदरमुकाम भरतपुर पुगे । विरोध प्रदर्शन गरेपछि दलहरूको रोहबरमा प्रशासनमा वार्ता भयो । मंसिरसम्ममा एउटा आयोग बनाएर समस्या समाधान गर्ने सहमति भयो, जुन आयोग कहिल्यै बनेन ।

तर, यस क्षेत्रका सांसद विक्रम पाण्डे भूमिसुधार मन्त्री भएकै बेला गत चैतमा अचानक सरकारले बाँदरझुलाबारे एउटा सूचना राजपत्रमा प्रकाशित र्गयो । त्यसमा माडीको कल्याणपुर, पिप्लेलगायत ७ स्थानमा यहाँका मानिसलाई सार्ने उल्लेख गरिएको छ । जसअनुसार एक परिवारलाई करिब ७ धुर जग्गाको उपयोग पुर्जा दिने उल्लेख गरिएको छ । उपयोग पुर्जा जसको नाममा हुन्छ, उसले मात्र प्रयोग गर्न पाउँछ, लालपुर्जाजस्तो बेच्न वा धितो राख्न मिल्दैन । यो प्रस्तावसँग यहाँका बासिन्दा सहमत छैनन् ।

‘गाउँमा चार आना जग्गा लिएर हामीले के खाने ? यहाँ त खेतबारी छ, त्यहाँ घर कसरी बनाउने ? के गरेर खाने ?’ परियारले भनिन् । बजार नजिक भए दैनिक ज्यालामा काम गर्न पनि सकिने उल्लेख गर्दै उनी भन्छिन्, ‘कि त रोजगारी दिनुर्पयो कि जीवनयापन गर्न पुग्ने जग्गा दिनुर्पयो । हामीले घडेरी देऊ भनेको हो र ?’ राजपत्रमा प्रकाशित सूचनाअनुसारको पुनर्वास कार्यक्रम स्थानीय चुनावपछि सुरु गर्ने सरकारको योजना छ । यो उत्तम विकल्प नभएकाले अबज्ञा गर्ने स्थानीयको योजना छ । कसको योजना साकार हुन्छ, थाहा छैन ।

सामान्य तर्कले चाहिँ यही भन्छ– चुनावअघि जनता बलिया हुन्छन्, मतदान पेटिकामा मत झरेपछि दल !
–कान्तिपुर दैनिकबाट