काठमाडौं, २६ वैशाख । प्रमुख विपक्षी दल नेकपा एमाले संविधान संशोधन गर्न लचक देखिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बसेको चार दलीय बैठकमा एमाले संविधान संशोधन मार्फत असन्तुष्ट दलहरुको माग सम्बोधन गर्न लचक भएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।
बैठकमा संविधान संशोधन नभए निर्वाचनमा संघीय गठबन्धनले सहभागी नहुने अडान लिएपछि राजनीतिक निकासका लागि भएपनि एमाले संविधान संशोधनमा लचक बनेको हो ।
गठबन्धन घटक राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बैठकमा एमाले संविधान संशोधनमा सकारात्मक देखिएको जानकारी दिए । यस्तै एमाले उपाध्यक्ष वामदेव गौतमले भाषामा परिमार्जन गरेर एमाले संविधान संशोधनमा सघाउन तयार रहेकोे बताए ।
यद्यपी उक्त बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव टुङ्गो लगाउने, बजेट ल्याउने र दोस्रो चरणको चुनाव गर्ने चारवटा एजेण्डामा छलफल भएकोमा दलहरु सबै विषयमा मध्यमार्गीधारबाट सहमति खोज्न तयार भएका छन् ।
उनीहरुले निर्वाचन, बजेट, संविधान संशोधन तथा महाअभियोगको विषय मध्यमार्गी बाटोबाट प्याकेजमा नै हल गर्नेमा सहमत देखिएका छन् ।
बैठकमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रतिपक्षी दल एमालेका उपाध्यक्ष गौतम, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गठबन्धनबाट राजेन्द्र महतो, अनिल कुमार झालगायतका शीर्ष नेताहरु सहभागी थिए ।