काठमाडौं महानगरमा तीन दलबीच मुख्य प्रतिस्पर्धा

0
687

काठमाडौं, २७ बैशाख । मुलुकको राजधानी रहेको सुविधासम्पन्न काठमाडौं महानगरपालिकाको प्रमुखका लागि प्रमुख तीन दलका नेता तथा कार्यकर्तालाई अहिले चुनावी चटारो छ। घरदैलो कार्यक्रममा व्यस्त उम्मेदवारहरू उस्तै दाबी गर्छन्, ‘मेरो प्रतिस्पर्धा कोहीसँग हुन सक्दैन, जित सुनिश्चित छ।’ देशको प्रमुख निकाय रहेको महानगरपालिकामा प्रमुख पद कसले हात पार्छ भन्ने सर्वसाधारणाको जिज्ञासा छ। प्रमुख पदका लागि धेरै दलको तर्फबाट उम्मेदवारी परे पनि प्रमुख तीन दलका उम्मेदवारबीच नै प्रमुख प्रतिस्पर्धा हुने यहाँका मतदाताहरूको अड्कल छ।

घाम लाग्दा धुलैधुलोको ‘धुलोमाण्डु’ र पानी पर्दा हिलैहिलोको ‘हिलोमाण्डु’लाई जसले सही रूपमा व्यवस्थापन गर्ने योजना ल्याउँछ, त्यही उम्मेदवारलाई जिताउने अधिकांश मतदाताको भनाइ छ। त्यसैले उम्मेदवारहरू पनि त्यही विषयलाई प्रमुख कार्यसूची बनाएर चुनावी प्रचारमा व्यस्त छन्। नेपाली कांग्रेसबाट काठमाडौं प्रमुखको उम्मेदवार बनेका राजुराज जोशीले भने, ’निर्वाचनमा मतदाताले मतमात्र खसाउन बाँकी छ, मेरो जित सुनिश्चित भइसक्यो।’ आफ्नो प्रतिस्पर्धा प्रमुख प्रतिपक्षी दल एमालेको उम्मेदवारसँग हुने उनले बताए।

’धुलोमाण्डुलाई पहिले काठमाण्डु बनाउँछु अनिमात्र अन्य ‘एजेण्डा’मा प्रवेश गर्छु, उनले भने। एमालेबाट मेयरको उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले अहिले देशभर एमालेकै लहर भएकाले काठमाडौंजस्तो प्रमुख स्थानमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। ’मेरो जितको आधार मेरो पार्टी र सङ्गठन हो, सङ्गठनकै जोडबल र मेरो कार्यक्षमता र मतदातासँगको नजिकको लगावले जित सुनिश्चित छ’, उनले भने।

काठमाडौं महानगरपालिकालाई सफा, सुन्दर र आकर्षक बनाएर मुख्य पर्यटकीय हबका रूपमा विकास गरी यहाँको आर्थिक सबलीकरणका लागि योजनाबद्ध काम गर्ने योजना आफूसँग रहेको बताउँदै उनले प्रतिबद्धतालाई कार्यान्वयन गरेर देखाउने बताए। आफू निर्वा्चित भए ठाउँठाउँमा पार्क निर्माण गरी काठमाडौंलाई निःशुल्क इन्टरनेट जोनका रूपमा विकास गर्ने उनी दाबी गर्छन्। त्यस्तै माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका सर्वोत्तम डङ्गोलले आफ्नो जितको सुनिश्चितता भनेकै ’अहिलेको सरकारको लोडसेडिङमुक्त काठमाडौं हो’ भने। ’यो सरकारले काठमाडौंसहित मुलुकको प्रमुख सहरलाई लोडसेडिङमुक्त बनायो, म निर्वा्चित भएमा काठमाडौंलाई धुलोमुक्त हरियालीमा रूपान्तरण गर्छुु’, उनले भने ।