माओवादी आक्रमणमा एमाले उम्मेद्वारका छोराको हत्या ।

0
452

दोलखा, २७ वैशाख । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा माओवादी केन्द्र र एमाले कार्यकर्ता्बिच झडप हुँदा एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

झडपमा एमाले कार्यकर्ता गौरीशंकर गाउँपालिका–१ जुँगुका अन्दाजी ३३ वर्षका राजेश भनिने कुल बहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । उनका बुवा स्थानीय तह चुनावमा खुल्लाबाट वडा सदस्यको पदमा उम्मेद्वार हुन् ।

झडपमा जुगु निलकण्ठेश्वर माविका शिक्षक समेत रहेका गौरीशंकर गाउँपालिका–२ का दिल बहादुर बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार राति एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादीका कार्यकर्ताले आक्रमण गरेका स्थानीय बासिन्दाले जनाएका छन् ।

प्रहरीले भने घटना कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको जनाएको छ । झडपमा एमाले कार्यकर्ताले प्रयोग गरेको तीनवटा मोटरसाइकल र तीनवटा बोलेरो जीपमा समेत आगो लगाइएको छ ।