कि हामी झै शान्तिपूर्ण बाटोमा आऊ कि विप्लवझैं घोषित रुपमै विद्रोहमा जाऊ : माओवादीलाई भट्टराईको सुझाव

0
369

काठमाडौं, २८ वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले कांग्रेस–माओवादी केन्द्रलाई इमान्दारीपूर्वक शान्तिपूर्ण बाटोमा आउन सुझाव दिएका छन् ।

यदि शान्तिपूर्ण बाटोमा आउन नसक्ने हो भने उनले घोषित ढंगले सशस्त्र विद्रोहमा जान चुनौती दिएका छन् । बिहीबार बिहान ट्विट गर्दै भट्टराईले सत्ताको आडमा माओवादी कांग्रेस सरकारले आफ्ना कार्यकर्तामाथि हिंसा गरेको आरोप लगाउँदै सके शान्तिपूर्ण बाटोमा आउन नसके नेत्रविक्रम चन्द विप्लव जस्तै सशस्त्र विद्रोहमा जान चुनौती दिएका हुन् ।

‘माकेलाई सुझाव कि हामी झैं इमान्दारीपूर्वक शान्तिपूर्ण बाटोमा आऊ कि विप्लवझैं घोषित ढंगले सशस्त्र विद्रोहमा जाऊ । सत्ताको तर मार्दै हिंसा नगर !’ बाबुरामको ट्विटमा उल्लेख छ ।
पाँच दिनसम्म गृहजिल्ला गोरखामा चुनाव प्रचार प्रसार गरेर काठमाडौं फर्केको भोलिपल्ट बाबुरामले प्रचण्ड नेतत्वको सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।

उनले आफ्ना पार्टीका उम्मेदवारविरुद्ध ३४ वटै जिल्लामा माओवादी केन्द्रले हिंसा मच्चाएको, कुटपिट गरेको, चुनावमा प्रचारर प्रसार गर्न नदिएको अभिव्यक्ति दिँदै आएका छन् । उनले सत्तारुढ दलले आर्थिक प्रलोभनमा पारेर मतदाता प्रभावित पार्न खोजेको समेत बताएका छन् ।

माकेलाई सुझाव:कि हामी झैं इमान्दारीपूर्वक शान्तिपूर्ण बाटोमा आऊ;कि बिप्लव झैं घोषित ढंगले सशस्त्रविद्रोहमा जाऊ;सत्ताको तर् मार्दै हिंसा नगर!