चुनावको खर्च २० अर्ब

0
258

काठमाडौं, २९ बैशाख । दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनको खर्च २० अर्ब रुपैयाँ पुग्ने भएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो । स्थानीय तह निर्वाचनका लागि भने अहिलेसम्म १८ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

अझै थप दुई अर्ब रुपैयाँ लाग्ने सरकारको अनुमान छ । १८ अर्ब रुपैयाँमध्ये १० अर्ब २९ करोड रुपैयाँ चुनाव घोषणा भएलगत्तै निर्वाचन आयोगलाई निकासा दिइएको र बाँकी करिब आठ अर्ब रुपैयाँ सुरक्षा निकायका लागि दिइएको अर्थ मन्त्रालय बजेट व्यवस्थापन महाशाखाका उपसचिव ईश्वरी अर्यालले बताउनु भएको छ ।

यसैबीच, पहिलो चरणको निर्वाचनमा उम्मेदवारले मापदण्ड अनुसार खर्च गरे करिब १७ अर्ब रुपैँया लाग्ने देखिएको छ । प्रदेश ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुर्य सय ८३ स्थानीय तहमा पर्सि चुनाव हुँदैछ । पहिलो चरणको चुनावमा ४९ हजार ३ सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरुलाई निर्वाचन आयोगले तोकेको अधिकतम खर्च सीमाको हिसाब गर्दा १६ अर्ब ८७ करोड १३ लाख खर्च हुने बताइँदै छ ।