काठमाडौं, २९ बैशाख । नेपाल औषधि आयातकर्ता संघले स्वास्थ्य मन्त्रालयको औषधि खरिदसम्बन्धी नयाँ नियमको विरोध गर्दै अत्यावश्यक औषधिसम्मको आयात ठप्प पार्ने चेतावनी दिएको छ । संघले आगामी ८ जेठदेखि सामान्य रोगमा प्रयोग हुनेदेखि आइसियूमा आवश्यक पर्ने अत्यावश्यक (इन्जेक्टेबल ड्रग) औषधिको आयात ठप्प पार्ने बताएको हो । उसले स्वास्थ्यमन्त्री गगन थापाले औषधि आयातसम्बन्धी गरेका पछिल्ला निर्णय र औषधि आयातकर्तालाई लगाएको आक्षेपविरुद्घ अत्यावश्यक औषधि आयातमा समेत रोक लगाउने जनाएको छ ।
सरकारको नयाँ नियम अमान्य
३० प्रकारका औषधि आयातमा रोक लगाउने सरकारी निर्णय आफूहरूलाई मान्य नहुने संघले जनाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव पवन आचार्यले ३० प्रकारका औषधि आयातमा रोक लगाउन गरेको निर्णय आपत्तिजनक भएको बताए । ‘सरकारले गरेको निर्णय हामीलाई मान्य छैन । यो निर्णय फिर्ता नलिए तत्काल अत्यावश्यक औषधि आयात ठप्प पार्नेछौँ,’ उनले भने । आचार्यले नेपाल औषधि आयातकर्ता संघलाई कमजोर नठान्नसमेत चेतावनी दिए । ‘नेपालमा अझै अत्यावश्यक औषधिको उत्पादन भएको छैन,’ उनले थपे, ‘यस्तो अवस्थामा हामीसँग सरकार निहुँ खोज्छ भने त्यसलाई सामना गरेर अगाडि बढ्न संघ सदैव तयार छ ।’
२२ सय प्रतिशत मुनाफा लिएको देखाउन चुनौती
संघका अध्यक्ष अञ्जन पुडासैनीले मन्त्री थापाले आयातकर्ताले औषधिमा २२ सय प्रतिशतसम्म मुनाफा लिइरहेको भनेर भ्रामक र आधारहीन अभिव्यक्ति दिएको आरोप लगाए । मन्त्री थापाले सार्वजनिक कार्यक्रममै नेपालमा आयात हुने थुप्रै औषधिमा चार सय प्रतिशतदेखि २२ सय प्रतिशतसम्म मुनाफा लिने गरेको बताउँदै आएका छन्् । औषधिको मूल्य तोकेर जनतालाई सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउने काममा भन्दा सस्तो लोकप्रियताका लागि ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णय गरेको पुडासैनीले बताए । ‘सरकारले तोकेकै मापदण्डमा सर्वसुलभ मूल्यमा औषधि आयात गर्दै आएका छौँ । औषधिमा २२ सय प्रतिशत मुनाफा लिएको कुरालाई स्वास्थ्यमन्त्रीले जनतामाझ प्रस्ट पार्न सक्नुपर्छ,’ उनले भने । विश्व व्यापार संगठनको सदस्य भएको हैसियतले समेत गुणस्तरीय औषधिलाई प्रतिस्पर्धात्मक बजारमा रोक लगाउन पाइँदैन । नेपाली कम्पनीहरूले स्वदेशमा खपत हुने कुल औषधिको ४० प्रतिशत नेपालमा उत्पादन गर्ने बताए पनि अत्यावश्यक औषधि (इन्जेक्टेबल ड्रग) विदेशबाटै आयात भइरहेको अवस्था छ ।
गलत प्रचारको पछि नलाग्न सरकारको आग्रह
सरकारले नेपाल औषधि आयातकर्ता संघलाई गलत प्रचारको पछि नलाग्न आग्रह गरेको छ । बाहिर आएको गलत सूचनालाई आधार मानेर आधिकारिक जानकारीविना सरकारलाई आक्षेप लगाउने कार्य न्यायोचित नभएको औषधि व्यवस्था विभागका महानिर्देशक डा. नारायणप्रसाद ढकालले बताए । ‘सरकारले ३० प्रकारका औषधि आयातमा रोक लगाउने भनेको छैन । कुन–कुन औषधि आयात गर्ने भन्ने पनि लिस्ट बनाएको छैन । यस्तो अवस्थामा ३० प्रकारका औषधि आयात रोक लगायो भनेर अत्यावश्यक औषधिको आयात ठप्प पार्छौं भनेर अभिव्यक्ति दिन जरुरी छैन,’ उनले भने, ‘हामीले औषधिमा रोक लगाउने भनेको होइन, रोक्नेभन्दा पनि मूल्यांकनका आधारमा मात्रै निर्णय गर्ने भनेका हौँ ।’ उनले केही औषधिहरू नेपालमा पनि गुणस्तरीय रूपमा उत्पादन भएको बताउँदै त्यस्ता औषधिलाई सरकारले प्रोत्साहन गर्ने बताए । ‘विदेशबाट आउने कतिपय औषधि कम गुणस्तरका छन्, त्यस्ता औषधिको आयातमा भने रोक लगाउन सकिन्छ,’ ढकालले भने ।