काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका –४ लंकुमा रहेको लक्ष्मी माध्यामिक विद्यालयको मतदान केन्द्रबाट विहान ७ बजे पहिलो मतदान गर्नु भएको छ । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि अन्य मतदाताहरुले मतदान सुरु गरे । पत्नी सीता दाहालको मतदाता नामावली शान्तिनगर मतदान केन्द्रमा भएकाले शान्तिनगरबाट मतदान गर्नु भएको छ ।
मतदान गरिसकेपछि होटलमा फर्केका प्रधानमन्त्री १० बजे पछि काठमाडौं र्फकने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनु भयो । यसैबीच, मतदानपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको बताउनुभयो । उहाँले भन्नुभयो –‘योे ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।”
प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै आफूले मतदान गरेको बताउनुभयो । मतदानका लागि उहाँ हिजै परिवारसहित चितवन पुग्नु भएको थियो । चितवनको भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहालकै छोरी रेणु दाहालले उम्मेद्वारी दिनु भएको छ । भरतपुरमा माओवादी केन्द्र र काँग्रेसबीच तालमेत भएको छ । मेयरकी उम्मेदवार रेणु दाहाल र गङ्गा दाहालले पनि प्रधानमन्त्री दाहालले गरेको मतदान केन्द्रबाटै मतदान गर्नुभएको छ ।
यता, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।