काठमाडौं, १ जेठ । किंग्स इलेभेज पञ्जावलाई पराजित गर्दै राइजिङ पुणे सुपरजाइन्टले आइपीएल क्रिकेटको प्लेअफमा पुगेको छ । पुणेसँग पराजित भएको पञ्जावको यात्रा भने आइपीएलको यो सिजनमा समाप्त भएको छ । टस जितेर पुणेले क्षेत्र रक्षण रोजेपछि ब्याटिङका लागि मैदानमा ओर्लिएको पञ्जावले २० ओभर पनि टिक्न नसकि ७३ रनमा सीमित भयो । पञ्जावले गतिलो सुरुवात गर्न सकेन । प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्तिल रनको खाता नै नखोली बाहिरिनु भयो । १९ रनको स्कोर बन्दा शान मार्स पनि व्यक्तिगत १० रन बनाउँदै बाहिरिनु भयो ।
पञ्जावका लागि अक्षर पटेलले सर्वाधिक २२ रन बनाउँदा रिदिमन शाहले १३ र स्वप्निल सिंहले १० रन बनाउनु भयो । ७४ रनको चुनौती पाएको पुणेले ४८ बल बाँकी छँदै एक विकेटको क्षतिमा जित हासिल गरेको हो । पुणेको जितमा अजिन्क्य राहाणेले ३४ रनको योगदान गर्नु भयो । राहुल त्रिपाठीले २८ र स्टेवन स्मिथले १५ रन बताउनु भयो । जितसँगै पुणे अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानमा मुम्बई इन्डियन्स कायम रहँदा सनराइजर्स हैदरावाद तेस्रो स्थानमा छ । कोलकाता नाइट राइडर्स चौथो स्थानमा छ ।