काठमाडौं, १ जेठ । कालिकोटको नन्दादेवी माध्यामिक विद्यालय सेरापाटामा मतपेटी खोस्ने क्रममा भएको झडपमा परी घाइते भएका एकजनाको मत्यु भएको छ । पेटमा गोली लागेका नरहरीनाथ गाउँपालिका ६ बस्ने ४५ वर्षिय धनरुप बटालाको मृत्यु भएको हो । गोली लागेर घाइते भएका तीनमध्ये एक जनाको अवस्था चिन्ताजनक छ । नरहरिनाथ गाउँपालिकाकै ३० वर्षका दानबहादार बटालाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । यस्तै ३२ वर्षका कुलबहादुर बटाला र ४५ वर्ष व्यासी विकलाई पनि गोली लागेको छ ।
हिजो विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका खोसे पछि प्रहरीले गोली चलाएको थियो । गोली लागि घाइते भएकाको अझै उपचारर हुन सकेको छैन । उपचारका लागि हेलिकोप्टर लिन गए पनि खराब मौसमका कारण अवतरण हुन नसकेको प्रहरीले जनाएको छ । विप्लव कार्यकर्ताले मतपेटिका खोसेर जलाइलिएका छन् ।
यता, धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा एमालेका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा आइसकेको भन्दै कांग्रेसका कार्यकर्ताले गएराति आक्रमण गरेको एमाले कार्यकर्ता भिमबहादुर थापाले जानकारी दिनु भयो । कांग्रेसको वडा अध्यक्षको उम्मेदवार हस्तबहादुर थापा मगरको नेतृत्वको टोलीले गरेको आक्रमणमा परि एमाले कार्यकर्ताहरु ललित थापा मगर, गणेश थापा मगर र राजेन्द्र थापा मगरलाई गम्भीर घाइते भएका छन् । झडपका क्रममा कांग्रेस कार्यकर्ता मिलन भन्ने धनबहादुर मगर पनि घाइते छन् ।