जेठ १० मा सत्ता हस्तान्तरण गर्ने तयारीमा प्रधानमन्त्री

0
450

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार नै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ । साथै जेठ १५ मा कामचलाउ बजेट ल्याइने पनि उहाँको भनाई छ । नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा प्रधानमन्त्री दाहालले सत्ता हस्तान्तरणबारे कांग्रेससँग भएको सहमति अक्षरश पालना हुने बताउनु भएको हो । सत्ता हस्तान्तरणले दोस्रो चरणको चुनावलाई असर नगर्ने भन्दै उहाँले भन्नु भयो, ‘कांग्रेससँग मेरो सहमति भएको छ । त्यो सहमति भन्दा एक दिनपनि बढी बस्दिनँ ।

सत्ता हस्तान्तरण हुन्छ ।’ तर, दोस्रो चरणको चुनाव सुनिश्चित नभएसम्म सरकार परिर्वतन नहुने उहाँको भनाई छ । माओवादी नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले आगामी जेठ १० गते राजीनामा दिने तयारी गर्नु भएको छ । यो सरकार गठनका क्रममा नै कांग्रेस र माओवादीबीच ९÷९ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सहमति अनुसार चैत मसन्तमा नै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाललाई सत्ता हस्तान्तरण गर्नु पर्ने हो । तर, स्थानीय चुनाव बैशाख ३१ लाई सरेपछि प्रचण्ड सरकारको कार्यकाल लम्बिएको छ । प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको चुनावपछि राजीनामा दिने बचन दिनु भएको छ ।

उहाँले मानवअधिकार आयोगसँग समेत असन्तुष्टी व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले टीकापुर घटनाका आरोपितहरुको मुद्दा फिर्ता लिँदा भएको विरोधप्रति असन्तुष्टि जनाउनु भएको हो । सरकारले अपराधीहरुको नभई झुटा मुद्दा मात्र फिर्ता लिएको उहाँको दाबी छ । विपक्षीले विरोध गर्नु कुनै नौलो नभएको भन्दै उहाँले मानवअधिकार आयोगले बुझ्दै नबुझी हतारमा विज्ञप्ति जारी गर्नुले आफूलाई नमिठो लागेको बताउनु भयो ।