एजेन्सी, ७ जेठ । इरानमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी पुनः निर्वाचित हुनु भएको छ । २ करोड ६० लाखभन्दा बढी मत गणना हुँदा उहाँले आधाभन्दा बढी मत प्राप्त गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ । सरकारी टेलिभिजनले रुहानीलाई बधाई दिंदै उहाँले ५८ प्रतिशतभन्दा बढी मत पाएको जनाएको हो ।
रुहानीका प्रतिस्पर्धी इब्राहिम राइसीले भने ३९ प्रतिशत मत प्राप्त गर्नु भयो । उहाँले चुनावमा अनियमितताको आरोप लगाउनु भएको छ । मतदानको समय पाँच घण्टा बढाएर स्थानीय समय अनुसार मध्यरातसम्म लम्ब्याइएको थियो । यसले गर्दा मतदान प्रतिशत बढेर ७० प्रतिशत पुगेको थियो । करिब ४ करोड मतदाताले मतदान गरेको इरानी आन्तरिक मन्त्रालयले जनाएको छ । मध्यमार्गी विचारधाराका रुहानीले सन् २०१५ मा अमेरिकालगायतका मुलुकसँग आणविक सम्झौता गरेका थिए । तर, वर्तमान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्ववर्ती ओबामा सरकारसँग गरिएको उक्त सम्झौताको विरोध गरेका छन् ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानको राष्ट्रपतीमा पुनः निर्वाचित भएपछि हसन रुहानीलाई बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको शुभकामना दिनुभएको सरकारका प्रवक्ताले बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले हिजो एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘मेरो साथी रुहानीलाई हृदयदेखि बधाई छ ।’ नयाँ कार्यकालमा इरानले रुहानीको सक्रिय नेतृत्वका कारण नयाँ सफलता चुम्ने उहाँको भनाई छ । भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा भारत–इरानबीचको सम्बन्ध थप प्रगाढ पार्न भारतको तर्फबाट आफू प्रतिबद्ध रहेको जनाउनुभएको छ ।