काठमाडौं, ७ जेठ । जेठ ३१ गतेका लागि तय भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि ९० हजार कर्मचारी खटिने भएका छन् । ४१ जिल्लाका ४६१ स्थानीय तहमा करिव ९० हजार कर्मचारी खटाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले जेठ ३१ को निर्वाचनको लागि कर्मचारी परिचालन गर्न शुरु गरिसकेको छ ।
आयोगले ४१ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । ४६१ स्थानीय तहको निर्वाचका निर्वाचन अधिकृत छनोट गरेर जिल्लामा परिचालन गरिसकेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनु भयो । ९० हजार कर्मचारी परिचालित भैसकेको उहाँको भनाई छ । दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुँदैछ ।
जेठ ३१ को निर्वाचनका लागि जेठ १९ गते उम्मेद्वार मनोनयन हुने कार्यतालिका छ । आयोगले जेठ २२ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।