मतदाता शिक्षाका लागि २८७ स्वयंसेवक जनताका घरदैलोमा

0
373

कञ्चनपुर, ७ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पुनः कञ्चनपुरमा मतदाता शिक्षाका लागि स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका अनुसार तालिम प्राप्त गरेका २८७ जना स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई मतदाता शिक्षा सामग्रीसहित मतदाताको घरदैलोमा पठाइएको छ ।

“सात नगरपालिका र दुई गाउँपालिकाका ९२ वटा वडाका मतदातालाई मतदाता शिक्षा प्रदान गर्न स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई घरदैलोमा पठाएका छौँ” – जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका प्रमुख केशवसिंह भण्डारीले भन्नुभयो ।

मतदाता शिक्षाका लागि परिचालितहरुलाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा पम्प्लेट र नमुना मतपत्रसहित सम्बन्धित गाउँपालिका र नगरपालिकामा खटाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर परिचालितहरुले मतदाता शिक्षा प्रदान गरिरहेका छन् ।

वडा वडामा राखिएका १३२ मतदानस्थलमा मतदाता शिक्षाका लागि जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकामा रहेका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र पूर्व प्राथमिक विद्यालयका शिक्षकलाई स्वयंसेवक र मतदान शिक्षा कार्यकर्ताका रुपमा निर्वाचन कार्यालयले तीनदिने तालिम प्रदान गरी सामग्रीसहित खटाएको हो ।

मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकले मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने छन् ।

बदर मतको प्रतिशतमा कमी ल्याउनका लागि परिचालित स्वयंसेवकलाई मतदातालाई सचेत गराउनमा बढी जोड दिइएको अधिकृत भण्डारीको भनाइ रहेको छ ।

यसैगरी, निर्वाचनका लागि निर्वाचन कार्यालयले यहाँ दुई हजार ५०० बढी कर्मचारीलाई मतदान केन्द्र र मतदानस्थलमा खटाउने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको र निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागिसमेत कार्य अगाडि बढाइएको अधिकृत भण्डारीले बताउनुभयो ।