आइएसले लियो म्यानचेस्टर एरिनामा गराइएको आक्रमणको जिम्मा

0
387

काठमाडौं, १० जेठ । बेलायतको म्यानचेस्टर एरिनामा गराइएको आत्मघाती आक्रमणको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसले लिएको छ ।
आइएसले सामाजिक सञ्जालमार्फत् म्यानचेस्टर एरिनामा भएको आत्मघाती आक्रमणको जिम्मा लिएको हो ।

सोमबार राति म्यानचेस्टर एरिनामा भएको आत्मघाती आक्रमणमा २२ जनाको मृत्यु भएको थियो भने ५९ जना घाइते भएका थिए ।

अमेरिकी गायिका ग्रान्डेको कन्सर्ट सकिएपछि दर्शक घर फर्कंदै गर्दा राति आक्रमण भएको थियो ।

यसैबीच बेलायती सुरक्षा एजेन्सीले आत्मघाती हमलामा २२ वर्षीय सलमान आवदी संलग्न रहेको ठहर गरेको छ ।

लिबियाई मूलका सलमानको जन्म म्यानचेस्टरमै भएको भए पनि उनी घटनामा संलग्न रहेको सुरक्षा एजेन्सीले जनाएको छ ।

आत्मघाती हमलापछि म्यानचेस्टर शहरमा छापा मारेर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घटनामा अन्य तीन जना संलग्न रहेको जनाएको छ ।

आम चुनावको दुई हप्ता अघि आत्मघाती हमला भएपछि बेलायतका ठूला राजनीतिक दलहरुले आफ्नो चुनावी अभियान स्थगित गरेका छन् ।

बेलायतमा आगामी जुन ८ मा हुने आमचुनावको प्रचार तिव्र गतिमा चलिरहेको थियो ।